कीवर्डहरू -

एन्ड्रोइड एप राख्न र बिक्री गर्न मिल्ने नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’

एन्ड्रोइड एप राख्न र बिक्री गर्न मिल्ने नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’

नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’ सार्वजनिक भएको छ । बर्क्ली कम्प्युटरले नेपालको आफ्नै एन्ड्रोइड एप मार्केटप्लेस ‘एप्सझोला’ सार्वजनिक गरेको हो । 

खासमा एप्सझोला पहिलो पटक सन् २०१५ मा सार्वजनिक भएको थियो । तर बीचमा प्राविधिक कारणले निरन्तर सञ्चालन हुन सकेको थिएन । 

अहिले यसलाई पुनः सार्वजनिक गरिएको हो ।एप्सझोलामा एन्ड्रोडइ एपहरू राख्न सकिने छ । नेपालमा अधिकांश एन्ड्रोडइ स्मार्टफोन प्रयोगकर्ता छन् भने एप विकासकर्ता समेत बढ्दै गएका छन् । 

विदेशी प्लेटफर्ममा एप पब्लिस गर्न मिले पनि त्यो प्रक्रिया सहज भने छैन् । त्यसैकारण नेपाली एन्ड्रोइड एप डेभलपरलाई प्लेटफर्म दिन र सहयोग गर्न एप्स झोला तयार भएको बर्क्ली कम्प्युटरका संस्थापक भुपाल सापकोटाले बताए । 

एप्सझोला अहिले वेबसाइटमा मात्रै उपलब्ध छ । तर निकट भविष्यमा यसको एप समेत आउने छ । उक्त एप पनि एप्सझोलाको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ । 

एप्सझोलाबाट एप डाउनलोड गर्ने मात्र नभएर बिक्री समेत गर्न सकिने उनले बताए । ‘एप्सझोलाबाट एप पनि बिक्री गर्न सकिने छ । अहिले पेमेन्ट गेटवे इन्टिग्रेसनको काम भइरहेको छ,’ सापकोटाले आईसीटी समाचारसँग भने, ‘छिट्टै एप बेच्न मिल्ने सुविधा समेत एप्सझोलामा आउने छ ।’

एप्सझोलामा एप राख्नका लागि डेभलपर अकाउन्ट बनाउनु पर्ने हुन्छ । डेभलपर अकाउन्ट बनाउन ९९९ रूपैयाँ शुल्क लाग्ने छ । त्यसपछि एप राख्न कुनै पनि शुल्क लाग्ने छैन् ।