कीवर्डहरू -

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं । अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी, निरीक्षण तथा उद्धारका लागि प्रयोग गर्न सकिने अत्याधुनिक ड्रोन स्विट्जरल्यान्डले नेपाललाई उपलब्ध गराएको छ ।

स्विट्जरल्यान्डले शनिबार उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको पहलमा उक्त ड्रोन नेपाल ल्याइएको जनाइएको छ ।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेषगरी मानिस प्रवेश गर्न कठिन तथा जोखिमपूर्ण संरचनाको निरीक्षण र मानवीय उद्धारका लागि डिजाइन गरिएको हो ।

ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ । यसका कारण सुरुङभित्र उडान गर्ने क्रममा भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि ड्रोनमा ठूलो क्षति नपुग्ने र पुन: उडान गर्न सक्ने क्षमता रहेको बताइएको छ ।

यस प्रविधिको प्रयोगबाट उद्धार टोलीले सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सक्नेछन् । सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिनुका साथै सम्भावित जोखिमको मूल्याङ्कन, उद्धारको योजना निर्माण तथा सुरक्षित रूपमा उद्धार टोली परिचालन गर्न समेत ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र पठाउनुअघि ड्रोनमार्फत सम्भावित जोखिम तथा भौतिक अवस्थाको जानकारी लिन सकिने भएकाले कठिन र जोखिमपूर्ण उद्धार कार्यलाई थप सुरक्षित, प्रभावकारी तथा व्यवस्थित बनाउन यो प्रविधिले महत्वपूर्ण भूमिका खेल्नेछ ।