काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) पछिल्लो करिब डेढ महिनादेखि गम्भीर प्राविधिक समस्यासँग जुधिरहेको छ । विगतमा प्रणालीमा रहेका कमजोरी, पर्याप्त तयारीबिनै गरिएको डिजिटल एकीकरण तथा सीमित भौतिक पूर्वाधारका कारण नयाँ दर्ता भएका नागरिकको बायोमेट्रिक प्रमाणीकरण प्रभावित भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म करिब दुई करोड नागरिकको विवरण प्रणालीमा दर्ता भइसकेको छ । तीमध्ये ९९ प्रतिशतभन्दा बढी पुराना विवरण सुरक्षित रूपमा सञ्चालनमा रहेपनि १ जुलाई यता नयाँ इनरोलमेन्ट गराएका सेवाग्राहीको विवरण भने पूर्ण रूपमा प्रमाणीकरण हुन सकेको छैन ।
प्रणालीले राष्ट्रिय परिचय नम्बर जारी गरे पनि वन-टु-वन बायोमेट्रिक भेरिफिकेसन प्रक्रिया पूरा गर्न नसक्दा ती विवरण स्वीकृत हुन सकेका छैनन् । विभागका निर्देशक निराजन श्रेष्ठका अनुसार प्रणालीको स्टोरेज क्षमता भरिनु र डेटा प्रशोधन गर्ने क्षमता सीमित हुनु नै समस्याको मुख्य कारण हो । उनका अनुसार एमएसआईको स्टोरेज भरिएपछि नयाँ दर्ता भएका सेवाग्राहीको विवरण नागरिक एप तथा अन्य सम्बन्धित सरकारी निकायका प्रणालीमा समेत देखिन छाडेको छ ।
उनका अनुसार प्राविधिक समस्याले प्रणालीको समग्र कार्य क्षमतामा पनि उल्लेखनीय असर परेको छ । पहिले प्रतिघण्टा करिब ६ हजार विवरण प्रशोधन गर्न सक्ने प्रणाली अहिले दैनिक ६०० देखि ७०० वटा विवरण मात्र प्रक्रिया अगाडि बढाउन सक्ने अवस्थामा पुगेको छ ।
आईसीटी समाचार