काठमाडौं । लगातार मोबाइल, कम्प्युटर र टिभीजस्ता डिजिटल डिभाइसको प्रयोगले दिमागमा थकान र तनाव बढाउन सक्ने भन्दै केही स्वास्थ्य सामाग्रीले दैनिक केही समय पूर्ण शान्तिमा बस्न सुझाव दिएका छन् । यस्तै एक लेखले दिनमा करिब दुई घण्टा मौन रहँदा मस्तिष्कमा नयाँ कोशिका बन्ने प्रक्रियालाई सहयोग पुग्न सक्ने दाबी गरेको छ । उक्त सामाग्रीले यो दाबीलाई न्यूरोजेनेसिस र हिप्पोक्याम्पससँग जोडेको छ ।
तर यो दाबीको आधार बनेको मूल अध्ययन चाहिँ मानिसमा होइन, मुसामा गरिएको अनुसन्धान हो । सन् २०१३ मा Brain Structure and Function मा प्रकाशित “Is silence golden? Effects of auditory stimuli and their absence on adult hippocampal neurogenesis” अध्ययनमा विभिन्न ध्वनि वातावरणको प्रभाव हेरिएको थियो । अध्ययनको सारांश अनुसार, श्वेत ध्वनि बाहेकका अवस्था, मौनतासहित precursor cell proliferation बढेको देखिएको थियो ।
उक्त अध्ययनले मौनतालाई मस्तिष्कका लागि लाभदायक हुन सक्ने संकेत दिएको भएपनि यसलाई मानिसमा “दुई घण्टा शान्त बस्दा निश्चित रूपमा नयाँ ब्रेन सेल्स बन्छन्” भनेर सीधै प्रमाणित गरिएको मानव-अध्ययन मान्न मिल्दैन । मूल अनुसन्धानले मुसामा हिप्पोक्याम्पस सम्बन्धी न्यूरोजेनेसिसमा ध्वनि र मौनताको प्रभाव देखाएको थियो, जबकि पछिल्लो लेखले त्यसलाई दैनिक जीवनसँग जोडेर सरल सन्देशका रूपमा प्रस्तुत गरेको हो ।
समग्रमा, उपलब्ध स्रोतहरूले एउटै कुरा संकेत गर्छन्, शान्त र कम उत्तेजनायुक्त वातावरण मस्तिष्कका लागि उपयोगी हुन सक्छ । तर यो विषयमा मानिसमा अझ बढी प्रत्यक्ष अनुसन्धान आवश्यक छ । त्यसैले, दैनिक केही समय मोबाइल, टिभी र अन्य आवाजबाट टाढा रहेर शान्त बस्नु लाभदायक अभ्यास हुन सक्छ, तर यसलाई चमत्कारी चिकित्सा उपायका रूपमा होइन, स्वस्थ जीवनशैलीको एक भागका रूपमा बुझिनु उपयुक्त हुन्छ ।
आईसीटी समाचार