काठमाडौं । रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा आएको प्राकृतिक विपद्का घटनासम्बन्धी सूचना तथा दृश्य सामग्री सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउन सरकारले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ति जारी गर्दै विपद्का समयमा सार्वजनिक गरिने सूचना तथा सामाग्रीले उद्धार, राहत र प्रभावित नागरिकको मनोविज्ञानमा पार्ने प्रभावलाई ध्यान दिन आग्रह गरेको हो ।
मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि भएका विवरणलाई मात्र आधार बनाउन भनेको छ । गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त सूचनालाई प्राथमिकता दिन मन्त्रालयको आग्रह छ ।
विपद्को समयमा अपुष्ट विवरण, अफवाह तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएका भ्रामक सामाग्रीले थप अन्योल र त्रास सिर्जना गर्न सक्ने भन्दै त्यस्ता सामाग्री सम्प्रेषण नगर्न पनि मन्त्रालयले सचेत गराएको छ ।
विशेष गरी दुर्घटना तथा विपद्मा ज्यान गुमाएका वा प्रभावित भएका व्यक्तिका हृदयविदारक तस्वीर, भिडियो तथा विवरण सामाजिक सञ्जालमा पोस्ट, सेयर वा रिपोर्ट नगर्न मन्त्रालयले अनुरोध गरेको छ । यस्ता सामाग्रीले पीडित व्यक्ति तथा उनीहरूका परिवारजनमा थप मानसिक पीडा पुग्न सक्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले विपद्का बेला सनसनीपूर्ण वा भय सिर्जना गर्ने सामाग्रीभन्दा तथ्यमा आधारित र जिम्मेवार सूचना प्रवाहलाई प्राथमिकता दिन सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
उद्धार तथा राहत कार्यलाई सहज बनाउन सही सूचना प्रवाह महत्वपूर्ण हुने भन्दै मन्त्रालयले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मानवीय संवेदनशीलता र जिम्मेवारीलाई केन्द्रमा राखेर सामाग्री प्रकाशन तथा प्रसारण गर्न विशेष अपिल गरेको छ ।
आईसीटी समाचार