काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालन भइरहेको कक्षा १२ को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै प्रश्नपत्र सार्वजनिक गरी परीक्षा प्रणालीमाथि असर पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।
साइबर ब्युरोका अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा केही समयअघि प्रश्नपत्र सार्वजनिक भएको भन्ने सूचनापछि अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा विभिन्न फेसबुक तथा फेसबुक म्यासेन्जर ग्रुपमार्फत ‘Class 12 Management only’ नामक WhatsApp Group र अन्य Group Create गरी सोही माध्यमबाट प्रश्नपत्र बाहिर ल्याई सार्वजनिक गरिएको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका ५ घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका १ रानीबन बस्ने २९ वर्षीय सन्तोष बन्जारा तथा काठमाडौंको नागार्जुन नगरपालिका १ वनस्थली बस्ने २० वर्षिय अश्विन अधिकारी रहेका छन् ।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

आईसीटी समाचार