ललितपुरको भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी मेला ५.० को प्रि इभेन्टको रूपमा सञ्चालन भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
आईतबार बिहान ९ बजेदेखि साँज ४ बजेसम्म भएको युआई/युएक्स प्रतियोगितामा ८३ जना सहभागी भएका थिए । कार्यक्रम २ क्याटोगोरीमा सञ्चालन भएको थियो ।
पहिलो क्याटोगोरी अन्तर्गत उच्च माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई राखिएको थियो । यसमा ८ वटा विद्यालयबाट ६० जना (२० टिम) सहभागी भएका थिए ।
त्यस्तै दोस्रो क्याटोगोरी अन्तर्गत ब्यालर्समा अध्ययन गर्ने विद्यार्थीहरू सहभागी भएका थिए । यसमा ४ वटा कलेजबाट २३ जना (८ टिम) सहभागी भएका थिए ।
सहभागीहरूले डिजाइन थिंकिङ र समस्या समाधान सीप अपनाउँदै युआई/युएक्सको क्षेत्रमा आफ्नो नवीन कला प्रस्तुत गरेका थिए । सहभागीहरूको मूल्यांकन इन्नोभेसन, डिजाइन र रियल वर्ल्ड समाधान गरेको आधारमा हुनेछ ।
यस प्रतियोगिताको नतिजा यही मंसिर २० र २१ गते भिरिञ्ची कलेजमा आयोजना हुन लागेको आइसिटी मेला ५.० मा घोषणा गरिने छ । उक्त मेलामा विद्यार्थीहरूले बनाएका विभिन्न नवीन आईटी परियोजनाहरू प्रदर्शनीमा राखिने छ । यस बाहेक रोबोट प्रतियोगिता, ई-स्पोर्ट प्रतियोगिता, स्क्वाड गेम लगायतका गतिविधि हुनेछन् ।