कीवर्डहरू -

विश्वविद्यालय सुधारको पहल : १५ दिनमै ट्रान्सक्रिप्ट र डिजिटल प्रमाणपत्र

विश्वविद्यालय सुधारको पहल : १५ दिनमै ट्रान्सक्रिप्ट र डिजिटल प्रमाणपत्र

काठमाडौं । विश्वविद्यालयहरूले अब परीक्षाफल सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत चैत २० गते आयोजित बैठकमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले उक्त निर्णयमा सहमति जनाएका हुन् ।

बैठकले परीक्षाफल प्रकाशनलाई पूर्वानुमान योग्य र व्यवस्थित बनाउन प्रत्येक विश्वविद्यालयमा नतिजा पोर्टल निर्माण गर्ने निर्णय गरेको छ । यससँगै नतिजा सार्वजनिक भएको मितिबाट १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गरिनेछ ।

उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गरिनेछ । उक्त समितिले १५ दिनभित्र परिस्कृत क्यालेन्डर तयार पार्ने जिम्मेवारी पाएको छ ।

यस्तै, विद्यार्थी तथा सेवाग्राहीका गुनासा, सुझाव र सेवा अनुरोधलाई छिटो तथा प्रभावकारी रूपमा सम्बोधन गर्न २४ सै घण्टा सञ्चालन हुने गुनासो व्यवस्थापन प्रणाली लागू गरिनेछ । यसका लागि फोन, मोबाइल एप, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहुच्यानल व्यवस्था मिलाइनेछ ।

अर्कोतर्फ, विद्यार्थीले आफ्ना शैक्षिक प्रमाणपत्र मोबाइल एप, नागरिक एप वा इमेलमार्फत सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था पनि गरिने भएको छ । यसका लागि आवश्यक एप तथा पोर्टल विकास गरी १५ दिनभित्र नागरिक एपसँग आबद्ध गरिने निर्णय गरिएको छ ।