कीवर्डहरू -

एआईको भविष्यलाई लिएर अमेरिका-चीन आमनेसामने, चीनले भन्यो- ‘दुर्भावनापूर्ण प्रतिस्पर्धा नगरौँ’

एआईको भविष्यलाई लिएर अमेरिका-चीन आमनेसामने, चीनले भन्यो- ‘दुर्भावनापूर्ण प्रतिस्पर्धा नगरौँ’

काठमाडौं । चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियमनलाई लिएर बढ्दै गएको भूराजनीतिक प्रतिस्पर्धाप्रति चिन्ता व्यक्त गर्दै ‘टकराव’ र ‘दुर्भावनापूर्ण प्रतिस्पर्धा’को सोचले विश्वव्यापी एआई शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

चीनको यस्तो धारणा अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोदेईले एआई विकासको गति केही सुस्त बनाउनुपर्ने र यसबाट चीनलाई एआईको दौडमा अघि बढ्न नदिने रणनीति अपनाउनुपर्ने बताएका बेला आएको हो ।

पछिल्लो समय अमेरिकाका प्रमुख एआई प्रयोगशाला तथा प्रविधि क्षेत्रका व्यक्तिहरूले एआईबाट उत्पन्न हुन सक्ने जोखिमबारे थप गम्भीर चेतावनी दिइरहेका छन् । केही उद्योग व्यक्तित्वले एआईको अनियन्त्रित विकासले मानव अस्तित्वमै गम्भीर खतरा निम्त्याउन सक्ने बताएका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकासमा अमेरिकाले चीनलाई पछि पार्नुपर्नेमा जोड दिँदै आएका छन् । उनको प्राथमिकता अमेरिकाले चीनभन्दा तीव्र गतिमा अत्याधुनिक एआई प्रविधिको विकास गर्नु रहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वो टाकुनले सोमबार पत्रकारसँग कुरा गर्दै एआईलाई लिएर धम्की, टकराव र दुर्भावनापूर्ण प्रतिस्पर्धाको भाष्यले विश्वव्यापी एआई शासनको प्रक्रियामा अवरोध पुर्‍याउने बताएका छन् ।

उनले यस्तो प्रतिस्पर्धा कुनै पनि पक्षको हितमा नरहेको उल्लेख गर्दै एआईको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । ‘खुला, समावेशी, सबैका लागि लाभदायक तथा सार्वजनिक हित प्रवर्द्धन गर्ने तरिकाले एआईको विकास गर्न सबै पक्षले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

चीनको पछिल्लो अभिव्यक्तिले विश्वका दुई प्रमुख एआई शक्ति अमेरिका र चीनबीच एआईको विकास, नियमन तथा विश्वव्यापी शासनसम्बन्धी साझा धारणा बनाउन अझै चुनौती रहेको देखाएको छ ।

यसैबीच, एआईको भविष्य र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे विश्वव्यापी बहस तीव्र भइरहेका बेला विभिन्न बजारमा प्रविधि कम्पनीका सेयरमा समेत दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एआईको प्रतिस्पर्धालाई लिएर चीनप्रति निरन्तर कडा धारणा राख्दै आएका छन् ।