काठमाडौं । अमेरिकी सरकारका कर्मचारीले अब सरकारी उपकरणबाट टिकटक प्रयोग गर्न पाउने भएका छन् । व्यवस्थापन तथा बजेट कार्यालयले जारी गरेको नयाँ ज्ञापनपत्रले सरकारी उपकरणमा टिकटक प्रयोगमाथि रहेको प्रतिबन्ध हटाउने दिशामा महत्वपूर्ण कदम चालेको हो ।
ओएमबीको नयाँ निर्णय अमेरिकी न्याय मन्त्रालयको पछिल्लो कानुनी व्याख्यामा आधारित छ । मन्त्रालयले टिकटकको अहिलेको अमेरिकी संस्करण विगतमा प्रतिबन्धको आधार बनेको एपभन्दा संरचनागत रूपमा फरक रहेको निष्कर्ष निकालेको छ । त्यसैले सन् २०२२ मा पारित गरिएको प्रतिबन्धसम्बन्धी कानुन हालको टिकटक संस्करणमा लागू नहुने मन्त्रालयको राय छ ।
ज्ञापनपत्रमा सरकारी उपकरणमा टिकटक प्रयोग गर्न सकिने स्पष्ट उल्लेख गरिएको छ । यसको अर्थ कर्मचारीले सरकारी डिभाइसबाट टिकटक खोल्न, भिडियो हेर्न तथा सामाग्री पोस्ट गर्न सक्ने अवस्था बनेको हो ।
अमेरिकाले सन् २०२२ मा संघीय सरकारका अधिकांश सरकारी उपकरणमा टिकटक प्रयोग गर्न रोक लगाएको थियो । चिनियाँ कम्पनी बाइटडान्ससँग टिकटकको सम्बन्ध र प्रयोगकर्ताबाट संकलन हुने तथ्यांकलाई लिएर राष्ट्रिय सुरक्षा जोखिम हुन सक्ने भन्दै तत्कालीन अमेरिकी प्रशासनले प्रतिबन्ध अघि सारेको थियो ।
विशेष गरी टिकटकको डेटा संकलन र सिफारिस प्रणालीमाथि अमेरिकी अधिकारी तथा सांसदहरूले प्रश्न उठाउँदै आएका थिए । चिनियाँ सरकारको सम्भावित प्रभावबाट प्रयोगकर्ताको सूचना प्रभावित हुन सक्ने आशंका समेत व्यक्त गरिएको थियो । यद्यपि अमेरिकी गुप्तचर निकायहरूले टिकटकबाट उत्पन्न हुने भनिएको जोखिमको विस्तृत प्रमाण सार्वजनिक गरेका थिएनन् ।
यसैबीच, अमेरिकामा टिकटकको स्वामित्व संरचनामा समेत ठूलो परिवर्तन आएको छ । बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्तालाई बिक्री गर्नुपर्ने वा प्रतिबन्ध सामना गर्नुपर्ने व्यवस्था गरिएको कानुनपछि कम्पनीको अमेरिकी व्यवसायलाई छुट्टै संरचनामा लैजाने प्रक्रिया अघि बढाइएको थियो ।
अहिले टिकटकको अमेरिकी व्यवसाय ‘टिकटक यूएसडीएस जोइन्ट भेन्चर’ अन्तर्गत सञ्चालन भइरहेको छ । यसमा ओराकल, सिल्भर लेकसहितका लगानीकर्ताको सहभागिता छ भने बाइटडान्सको हिस्सा १९.९ प्रतिशत रहेको बताइएको छ ।
टिकटकमाथिको अमेरिकी प्रतिबन्धको भविष्यमा पनि पछिल्लो निर्णयले प्रभाव पार्ने देखिएको छ । गत वर्ष अमेरिकामा टिकटक केही समयका लागि बन्द समेत भएको थियो । तर डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो र पछि अमेरिकी संस्करणलाई छुट्टै कम्पनी संरचनामा सञ्चालन गर्ने बाटो खुलेको थियो ।
सरकारी निकायहरू भने प्रतिबन्ध खुकुलो हुनुअघि नै टिकटकमा फर्किन थालेका थिए । न्याय मन्त्रालयको कानुनी रायपछि यातायात विभाग, अर्थ मन्त्रालय तथा स्वास्थ्य तथा मानव सेवा विभागले आधिकारिक टिकटक खाता सञ्चालनमा ल्याएका छन् । ह्वाइट हाउसले पनि यसअघि नै आफ्नो आधिकारिक टिकटक खाता खोलिसकेको थियो ।
नयाँ व्यवस्थाले संघीय कर्मचारीलाई सरकारी उपकरणमा टिकटक प्रयोग गर्ने सुविधा मात्र दिएको छैन, यसले अमेरिकी सरकारको टिकटकप्रतिको नीतिमा आएको ठूलो परिवर्तनसमेत संकेत गरेको छ । तथापि, राष्ट्रिय सुरक्षा र डेटा गोपनीयतासम्बन्धी चिन्ता भने पूर्ण रूपमा समाप्त भएको छैन ।
आईसीटी समाचार