काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत थिए । उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि नवनियुक्त पदाधिकारीलाई सक्रियता र टिमवर्कका साथ काम गर्न निर्देशन दिए ।

उनले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए । मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
काठमाडौं विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्नेमा जोड दिँदै उनले कक्षा १२ पछि उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने बताए ।
त्यसैगरी, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बरालसहित शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
आईसीटी समाचार