काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनको विकास र व्यावसायीकरणलाई प्राथमिकतामा राख्दै नवप्रवर्तकलाई आवश्यक सहयोग उपलब्ध गराउने नीति सरकारले अघि बढाउन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नवप्रवर्तन क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधिसहितको कानुनी व्यवस्था तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार मन्त्रालयले नवप्रवर्तकलाई उपयोगी वस्तु वा सेवाको प्रारम्भिक नमूना (प्रोटोटाइप) विकास गर्न आवश्यक सहयोग उपलब्ध गराउनेछ । सफल नमूनालाई व्यावसायिक उत्पादनका रूपमा विकास गरी बजारसम्म पुर्याउन आवश्यक सहजीकरण पनि गरिने उनले बताएका छन् ।
मन्त्री पुनले नवप्रवर्तकले विकास गरेका सम्भावनायुक्त प्रविधि, वस्तु वा सेवामा पेटेन्ट, प्रतिलिपि अधिकार (कपिराइट) तथा ट्रेडमार्कजस्ता बौद्धिक सम्पत्तिको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिने उल्लेख गरेका छन् ।
यस्तै, नवप्रवर्तक र सम्भावित लगानीकर्ताबीच समन्वय गरी नवप्रवर्तनलाई व्यावसायीकरणतर्फ लैजाने तथा त्यसका लागि सरकारले आवश्यक सहुलियत उपलब्ध गराउने नीति लिइने उनले बताएका छन् ।
उनका अनुसार नवप्रवर्तक र उद्योगबीच सहकार्य बढाउने, नयाँ उत्पादन तथा सेवाको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने तथा नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्ने दिशामा मन्त्रालयले काम अघि बढाइरहेको छ ।
मन्त्री पुनले यी पहलमार्फत अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई जोड्दै स्वदेशमै नवीन प्रविधि र उत्पादन विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् ।
आईसीटी समाचार