कीवर्डहरू -

एआईसँगै चर्चामा आएको प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

एआईसँगै चर्चामा आएको प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र नभएर रोजगारी सिर्जना समेत गर्नेछ ।  

त्यसैको एक उदाहरण हो, प्रम्प्ट इन्जिनियरिङ । सामान्य अर्थमा भन्दा एआईको क्षेत्रमा जन्मिएको नयाँ अवधारणा नै प्रम्प्ट इन्जिनियरिङ हो । यो प्राकृतिक भाषामा प्रशोधन गरिन्छ । 

यसमा विशेष गरेर एआईले गर्नु पर्ने कामको विवरण राखिएको हुन्छ । यसमा शब्द, अनुच्छेद, संकेत तथा ढाँचाको उत्कृष्ट छनोट गर्नु पर्ने हुन्छ । तब मात्र एआईले स्तरीय र सान्दर्भिक जवाफ दिन्छ । प्रम्प्ट इन्जिनियरले एआईलाई उत्कृष्ट उत्तर दिने बनाउन प्रम्प्टहरु सिर्जना गर्छन् । यसले गर्दा मसिनको नतिजा दिने क्षमता सुधार हुने गर्छ । एआईका लागि प्रम्प्ट इन्जिनियरिङ निकै महत्वपूर्ण हुने गर्दछ । 

एलएलएमको सामान्यदेखि जटिल समस्या समाधान गरेर यसको क्षमता सुधार गर्न समेत प्रम्ट इन्जिनियरिङ प्रयोग गर्ने गरिन्छ । यसकारण एलएलएमलाई कार्य गर्न निर्देशन दिन प्रम्प्ट डिजाइन गर्नु नै प्रम्प्ट इन्जिनियरिङ हो । एआईबाट आफुले चाहेको वा खोजेको उत्कृष्ट जवाफ पाउन आवश्यक पर्ने प्रम्प्ट दिनु नै प्रम्प्ट इन्जिनियरिङ हो ।  

जस्तै उदाहरणका लागि कल्पना गर्नुहोस् कि तपाईंसँग एक बौद्धिक साथी छ, जसले तपाईंको कुनै पनि समस्या समाधान गर्न सक्छ । तर उसले तपाईको सामान्य बोलिने भाषाको साटो विशेष भाषा बुझ्छ । तसर्थ, तपाईंको प्रश्नको सही जवाफ पाउनको लागि, तपाईंले उहाँलाई त्यही भाषामा सटीक निर्देशनहरू दिनु पर्छ । एआईलाई सानो निर्देशन दिएर, यसले केही क्षणमा तपाईको माग पूरा गर्दछ । यो छोटो निर्देशनलाई प्रम्प्ट भनिन्छ ।

प्रम्प्ट इन्जिनियरिङको माध्यमबाट हामी एआईसँग अझ सजिलै कुराकानी गर्न सक्छौं । यसले तिनीहरूलाई प्रश्नहरूको जवाफ दिन, रचनात्मक कथाहरू सिर्जना गर्न, भाषाहरू अनुवाद गर्ने जस्ता कामहरू गर्न अनुमति दिन्छ । यसलाई नै प्रम्प्ट इन्जिनियरिङ भनिन्छ । 

प्रम्प्ट इन्जिनियरहरुले के काम गर्छन् ? 

प्रम्प्ट इन्जिनियरहरूले एलएलएम, मसिन ट्रान्सलेसन सिस्टम, इमेज रिकग्निसन सिस्टम जस्ता एआई सिस्टममा काम गर्छन् । प्रम्प्ट इन्जिनियरहरुलाई काम गर्नका लागि चुनौती नभएका चाहिं होइनन् । उनीहरूले नयाँ एआई एप्लिकेसन विकास गर्न नयाँ र जटिल एआई अनुसन्धानमा काम गर्नुपर्ने हुन्छ । उनीहरूको भाषा पनि राम्रो हुनुपर्ने हुन्छ । 

प्रम्प्ट इन्जिनियर बन्न के गर्ने ?

प्रम्प्ट इन्जिनियर बन्नका लागि सर्वप्रथम त सूचना प्रविधिमा (आइटी) मा ज्ञान हुन जरुरी छ । त्यसबाहेक विश्लेषणात्मक र समस्या समाधान गर्ने क्षमता, बिग डेटा प्रविधिमा प्राविधिक अनुभव, भाषामा दक्षता, एआई टुल र डेटा एनालाइजिङमा अनुभव भएको हुनुपर्नेछ ।

प्रम्प्ट इन्जिनियरिङ सिक्नका लागि अनलाईनको प्रयोग गर्न सकिन्छ । जस्तै, युडेमी, डिप लर्निङ एआई, गीटहब, लर्न माइक्रोसफ्ट, हेल्प ओपन एआई, लर्न प्रम्प्टिङ जस्ता अन्य थुप्रै प्लेटफर्म रहेका छन् जहाँबाट निःशुल्क प्रम्प्ट इन्जिनियरिङ सिक्न सकिन्छ ।

यो कोर्ष विभिन्न अनलाईन माध्यमबाट निःशुल्क पनि पढ्न सकिन्छ भने निश्चित शुल्क तिरेर पनि पढ्न सकिन्छ । 

प्रम्प्ट इन्जिनियरिङमा कस्तो छ भविष्य ? 

नयाँ–नयाँ एआई टुलहरू विकास हुँदै जाँदा प्रम्प्ट इन्जिनियरिङलाई एक लोकप्रिय प्राविधिक काम मान्न थालिएको छ । त्यस्तै उदाउँदो र रचनात्मक क्षेत्र बन्दै गइरहेको छ । 

यसमा दक्ष भएकाले एलएलएम एआईलाई तालिम दिन, तिनीहरूबाट धेरै उत्तर प्राप्त गर्न, कमजोरी सुधार गर्न सक्छन् । साथै प्रम्प्ट इन्जिनियरिङबाट राम्रो कमाई समेत गर्न सकिन्छ ।  

अमेरिकामा प्रम्प्ट इन्जिनियरिङको वार्षिक तलब ६२ हजार अमेरिकी डलर रहेको छ ।