कीवर्डहरू -

फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?

फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?

पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटना बढिरहेका छन् । नेपालमा मात्र नभएर संसारभर थुप्रै चर्चित व्यक्ति तथा संस्थाका फेसबुक पेजहरु दिनदिनै ह्याक भइरहेका खबरहरू हामीहरूले पढ्दै सुन्दै आएका छौं । 

अहिले ह्याकहरुले नाम चलेका र धेरै फ्लोअर भएका पेज तथा प्रोफाइलमा विज्ञापन गर्छौ भन्दै म्यासेज पठाउने र उनीहरुले भनेको जस्तै गर्दा अकाउन्ट ह्याक हुने गरेको छ । 

सुरुमा तपाईंको इमेल माग्छन् र इमेलमा आएको लिंकमा क्लिक गरेर उनीहरूले भने अनुसार गरेपछि सजिलै तपाईको अकाउन्ट ह्याक हुन सक्छ । 

त्यसैगरी आजभोली ह्याकरहरूले तपाईंको फेसबुकको कुकिज समेत माग्ने गरेका छन् । कुकिज यस्तो चिज हो, जसबाट पासवर्ड र इमेल बिना नै अकाउन्टमा लगइन गर्न सकिन्छ । 

यसमा उनीहरुले सबैभन्दा पहिले फेक नोटिफिकेसनमार्फत तपाईको अकाउन्ट/पेज बन्द हुँदै छ भनेर म्यासेज पठाउँछन् । यदि बन्द हुनबाट बच्ने हो भने तपाईंको फेसबुक अकाउन्टको कुकिज पठाउन भन्छन् । कुकिज कसरी निकाल्ने भनेर उनीहरुले भिडियो ट्युटोरियल नै बनाएका हुन्छन् ।

अनि कुकिज पाएपछि उनीहरुले सिधै तपाईंको फेसबुक अकाउन्टमा एक्सेस गर्न सक्छन् । तपाईंको अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन भए पनि कुकिज पाएपछि सिधै लगइन गर्न सकिन्छ र नयाँ लगइन भएको भनेर फेसबुकमा नोटिफिकेसन समेत आउदैन । 

त्यसो भए फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ? 

- फेसबुक पेज र प्रोफाइलमा को-को एडमिन छन् भनेर हेर्ने गरौं । एकजनाको अकाउन्ट ह्याक भएपछि पेज नै ह्याक हुन सक्छ । 
- जथाभावी एडमिन बनाउने काम नगरौं ।
- फेसबुकमा आउने फेक नोटिफिकेसनलाई चिनौ । 
- तपाईंको पेज अब बन्द हुन्छ भन्दै म्यासेज आयो भने www.facebook.com/profile_status मा जानुहोला । त्यहाँ हरियो लाईनमा No restriction लेखेको छ भने पेजमा कुनै समस्या छैन र त्यो नोटिफिकेसन फेक हो भनेर बुझ्नुहोला ।  
- लाखौंको विज्ञापन आयो भन्दै जथाभावी लिंकमा क्लिक नगर्नुहोला । 
- कुकिज चोरीबाट बच्नको लागि आफ्नो मोबाइल, फोन तथा कम्प्युटर लक गर्ने बानी गर्नुहोला । 
- फेसबुक ह्याक भएपछि आउने बट कमेन्ट्सलाई चिन्नुहोला ।

(पोखरेल साइबर सुरक्षा अनुसन्धानकर्ता हुन्)