कीवर्डहरू -

बेलायतमा मदिरा किन्न अब मोबाइलबाटै उमेर प्रमाणित गर्न सकिने

बेलायतमा मदिरा किन्न अब मोबाइलबाटै उमेर प्रमाणित गर्न सकिने

काठमाडौं । बेलायतको इङ्ल्यान्ड र वेल्समा मदिरा खरिद गर्दा उमेर प्रमाणित गर्न भौतिक परिचयपत्र बोक्नुपर्ने बाध्यता घटेको छ । नयाँ व्यवस्थाअनुसार ग्राहकले सरकारबाट स्वीकृत डिजिटल आइडी एप प्रयोग गरेर मोबाइलबाटै आफ्नो उमेर पुष्टि गर्न सक्नेछन् ।

मंगलबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार पब तथा पसलमा मदिरा किन्दा ग्राहकले मोबाइलमा डिजिटल आइडी देखाउन सक्नेछन् । यसका लागि पोस्ट अफिस, योटी र लुसिडिटी लगायतका प्रदायकका स्वीकृत एप प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारका अनुसार डिजिटल प्रणालीमा ग्राहकले आफ्नो परिचयपत्र व्यवसायीलाई प्रत्यक्ष रूपमा दिनुपर्दैन । मोबाइलमा देखाइएको क्यूआर कोड स्क्यान गरेर वा आवश्यक उपकरणमा फोन ट्याप गराएर उमेर जाँच गर्न सकिनेछ । यसबाट उमेर प्रमाणित गर्ने प्रक्रिया सहज, छिटो र सुरक्षित हुने सरकारको दाबी छ ।

योटीको डिजिटल आइडी प्रणालीमा प्रयोगकर्ताले सुरुमा आफ्नो अनुहार स्क्यान गर्नुपर्ने हुन्छ । एपले उक्त विवरणलाई आइडी दर्ता गर्ने व्यक्तिसँग मिलान गरेपछि उमेर प्रमाणित गर्न प्रयोग हुने क्यूआर कोड तयार गर्छ । पसल वा पबका कर्मचारीले आफ्नो चेकिङ एपबाट उक्त कोड स्क्यान गरेर ग्राहकको उमेर पुष्टि गर्न सक्छन् ।

डिजिटल सुरक्षा बढाउन क्यूआर कोड निश्चित समयपछि स्वत: निष्क्रिय हुने व्यवस्था गरिएको छ । त्यसकारण कोड अरू व्यक्तिलाई दिएर प्रयोग गर्ने वा दुरुपयोग गर्ने सम्भावना कम हुने बताइएको छ ।

सरकारले भविष्यमा विभिन्न डिजिटल आइडी एपबीच अन्तरसञ्चालनको सुविधा विकास गर्ने योजना पनि अघि सारेको छ । मोबाइल डेटा वा वाइफाइ उपलब्ध नभएको अवस्थामा समेत डिजिटल उमेर प्रमाणिकरण सेवा प्रयोग गर्न सकिने व्यवस्था बनाउने तयारी भइरहेको जनाइएको छ ।

यस प्रणालीलाई आगामी दिनमा सुर्तीजन्य पदार्थ तथा भेप खरिदका क्रममा उमेर प्रमाणित गर्नसमेत विस्तार गर्न सकिने सरकारको भनाइ छ । तर नयाँ व्यवस्थाप्रति डिजिटल अधिकारसम्बन्धी अभियानकर्ताहरूले भने प्रश्न उठाएका छन् ।

डिजिटल आइडी सुरुमा वैकल्पिक भएपनि भविष्यमा नागरिकका लागि अनिवार्य प्रणाली बन्न सक्ने भन्दै उनीहरूले गोपनीयता र डिजिटल अधिकारका विषयमा चिन्ता व्यक्त गरेका छन् ।