काठमाडौं । यूट्युबले आफ्ना प्रयोगकर्ताका लागि लाइभस्ट्रिम अनुभव सुधार गर्ने उद्देश्यले नयाँ सुविधा सार्वजनिक गरेको छ । अब लाइभ प्रसारणका क्रममा दर्शकले सधैंजसो विज्ञापन हेर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
कम्पनीका अनुसार लाइभ च्याट अत्यधिक सक्रिय भएको अवस्थामा वा दर्शकहरूले सुपर च्याट, सुपर स्टिकर वा गिफ्टमार्फत सर्जकलाई समर्थन गरेका बेला प्रणालीले स्वत: विज्ञापन नदेखाउने व्यवस्था गरिएको छ ।
यसअघि विज्ञापनरहित अनुभवका लागि प्रयोगकर्ताले प्रिमियम सेवा लिनैपर्ने व्यवस्था थियो । तर अब भने सक्रिय सहभागिता भएका क्षणमा दर्शकलाई स्वत: विज्ञापनबाट छुट दिइनेछ । साथै, सुपर च्याट, सुपर स्टिकर वा गिफ्ट खरिद गर्ने प्रयोगकर्ताले केही समयका लागि व्यक्तिगत रूपमा पनि विज्ञापन नदेखिने सुविधा पाउनेछन् ।
यूट्युबका अनुसार यस परिवर्तनले सर्जकलाई दर्शकसँग अविच्छिन्न रूपमा जोडिन मद्दत गर्नुका साथै लाइभ प्रसारणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसका साथै, यूट्युबले दर्शकको सहभागितालाई ध्यानमा राखेर पनि विज्ञापन कम गर्ने जनाएको छ । यदि लाइभस्ट्रिममा एक्कासि धेरै कमेन्ट, प्रतिक्रिया वा अन्य अन्तरक्रिया बढेमा, त्यस समयमा विज्ञापन केही समयका लागि रोक्न सक्नेछ ।
यद्यपि, यो सुविधा सबै प्रयोगकर्तामा समान रूपमा लागू हुने छैन । कसलाई र कति समय दिने भन्ने कुरा प्लेटफर्मका निश्चित मापदण्ड र अवस्थाहरूमा निर्भर रहनेछ ।
यो नयाँ अपडेटले विशेष गरी सिर्जनाकर्ता र दर्शकबीचको प्रत्यक्ष अन्तरक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ । साथै, सहयोग गर्ने दर्शकलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार