कीवर्डहरू -

के हो एससीटीको फास्ट बैंकिङ सेवा ? कसरी छ सुरक्षित ?

के हो एससीटीको फास्ट बैंकिङ सेवा ? कसरी छ सुरक्षित ?

मंसिर १ गते नेपालको वित्तिय क्षेत्रलाई डिजिटाइज गर्न विगत २० वर्षदेखि काम गरिरहेको कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले नयाँ प्रडक्ट ‘फास्ट बैंकिङ’ सार्वजनिक गर्‍यो ।

स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा तयार भएको ओम्नी च्यानलमा आधारित उक्त मोबाइल बैंकिङ प्लेटफर्म फास्ट बैंकिङले बैंक तथा वित्तिय संस्थाले पछिल्लो आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ ।

बैंकले भुक्तानी डिजिटाइजलाई धेरै प्राथमिकता दिँदा अन्य सेवा डिजिटाइज हुन नसकेको समस्यालाई मध्यनजर गर्दै फास्ट बैंकिङ सेवा सार्वजनिक गरेको एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजुले बताए ।

‘आजको दिनमा बैंकले ग्राहकहरूलाई आफ्नो शाखाबाट मात्रै सेवा दिन सक्दैन् । बैंकका शाखा सिमित छन् । ग्राहकहरू बढी छन्,’ भुजुले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘यस्तो अवस्था बैंकले भुक्तानीलाई मात्रै डिजिटाइज गरिरहेका छन् ङ अन्य सेवाको डिजिटाइज त्यत्ति प्राथमिकतामा छैन् । त्यसैलाई सम्बोधन गर्न एससीटीले फास्ट बैंकिङ ल्याएको हो ।’

फास्ट बैंकिङको सेवा लिन बैंक तथा वित्तिय संस्थाहरूले एससीटीलाई सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसपछि बैंक तथा वित्तिय संस्थाको आवश्यकता अनुसार एससीटीले उक्त सिस्टम प्रदान गर्नेछ । अनि बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदान गर्न सक्ने छन् ।

अहिले यो सिस्टम ग्लोबल आईएमई बैंकले प्रयोगमा ल्याइसकेको छ अन्य केही बैंक तथा वित्तिय संस्थासँग पनि सहकार्यको सम्झौता भएको छ ।

के हो फास्ट बैंकिङ ?

अहिले बजारमा उपलब्ध प्रडक्टमा भए कमी कमजोरीलाई समाधान गर्न बनेको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सोलुसन हो, फास्ट बैंकिङ ।

एउटै युजरनेम र पासवर्डबाट लगइन गर्न सकिने फास्ट बैंकिङले हाल बैंकमा भइरहेको म्यानुअल कामलाई डिजिटाइज गर्ने बताइएको छ । कम्पनीका अनुसार फास्ट बैंकिङ चलाउन सजिलो रहेको छ ।

बजारमा देखिएका कमी कमजोरी र बैंकको आवश्यकतालाई सम्बोधन गर्न विगत ५ वर्षदेखिको मेहनतपछि फास्ट बैंकिङ ल्याएको भुजुले बताए ।

\"\"

ओपन एपीआईको अवधारणामा फास्ट बैंकिङ डिजाइन गरिएको छ । यसबाट रियल टाइम रेभिन्यु गणना गर्न सकिन्छ भने एफडीको अगेनिस्टमा ऋण लिन सकिन्छ ।

कुनै बेला कारोबार सफल नभएमा छोटो समयमै त्यसलाई पुनः पठाउन वा पैसा फिर्ता ल्याउन सकिन्छ । फास्ट बैंकिङ मार्फत अनलाइनबाटै टोकन लिएर ग्राहक बैंकमा सेवा लिन जान सक्ने छन् ।

यसमा रिपोर्टिङको सुविधा पनि रहेको छ । यसमा कुनै पनि थर्डपार्टी सिस्टमलाई सजिलै एकीकृत गर्न सकिने छ । फास्ट बैंकिङमा बैंकले आफुले प्रडक्ट डिजाइन गरेर पनि सार्वजनिक गर्न सक्ने छन् ।

फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च घटाउने विश्चास लिइएको छ ।

फास्ट बैंकिङमा भुक्तानी सुविधा, अकाउन्ट मनिटरिङ, फन्ड ट्रान्सफर सुविधाका साथै कार्ड एक्टिभेट, ब्लक, बैंकमा चेक बुक रिक्वेष्ट, बैकमा रकम जम्मा गर्न जाने टोकन लिएरै जान सकिने लगायतका सुविधा छन् ।

कत्तिको सुरक्षित छ, फास्ट बैंकिङ ?

यसअघि तपाईले मोबाइल बैंकिङ लगायत अन्य धेरै ठाउँमा ओटीपी कोड आफै राख्दै आउनु भएको थियो होला तर फास्ट बैंकिङमा भने म्यानुअल्ली त्यसरी कोड राख्न मिल्दैन् । अटोमेटिक नै मोबाइलमा आएको ओटीपी कोड सिस्टमले राखिदिन्छ ।

\"\"

यसले गर्दा ओटीपी कोडबाट हुने साइबर आक्रमणमा कम आउने विश्वास गरिएको छ । फास्ट बैंकिङ सबै हिसाबले सुरक्षित रहेको सीईओ भुजु बताउँछन् । ग्राहकको डाटा सुरक्षामा संवेदनशील रहेको र सुरक्षामा ध्यान दिइरहेको कम्पनी दावी छ ।

‘ग्राहकको डाटा सुरक्षामा हामीले एकदमै ध्यान दिएका छौं । एससीटी आफै पनि पीसीआईडीएस कम्पनी हो,’ उनी भन्छन्, ‘हामीले फास्ट बैंकिङ प्रदान गरेपछि बैंकले डाटा होस्ट गर्छ । डाटामा हामीले पनि पहुँच राख्न सक्दैनौं । कसैले अनाधिकृत रूपमा डाटा पहुँच गरेपनि डाटालाई पढ्न र हेर्न सक्दैन् ।’

आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा सुदृढ, स्केलेबल र सुरक्षित भएको कम्पनीले जनाएको छ ।