काठमाडौं । अमेजनले मेटाको नयाँ व्यक्तिगत एआई असिस्टेन्ट ‘म्युज’लाई आफ्नो अनलाइन प्लेटफर्ममार्फत किनमेल गर्नबाट रोक लगाएको छ ।
एआई एजेन्टमार्फत प्रयोगकर्ताको तर्फबाट स्वचालित रूपमा अनलाइन किनमेल गर्ने प्रविधि अर्थात् ‘एजेन्टिक सपिङ’लाई लिएर प्रविधि कम्पनीहरूबीच बहस भइरहेका बेला अमेजनले यस्तो कदम चालेको हो ।
अमेजनका अनुसार मेटाको म्युजले अमेजनको वेबसाइटमा पहुँच लिनुअघि कम्पनीलाई त्यसबारे जानकारी गराएको थिएन ।
साथै, वेबसाइट ब्राउज गर्ने क्रममा म्युजले आफू एआई एजेन्ट भएको स्पष्ट रूपमा पहिचान नगराउने र ग्राहकका लगइन विवरण (क्रेडेन्सियल) संकलन तथा भण्डारण गर्न सक्ने देखिएपछि सुरक्षा तथा गोपनीयतासम्बन्धी जोखिम उत्पन्न भएको अमेजनको दाबी छ ।
सेप्टेम्बर २०, २०२६ को रातिदेखि म्युज प्रयोग गरेर अमेजनमा किनमेल गर्न खोज्ने प्रयोगकर्ताले पहुँच रोकिएकोसम्बन्धी सूचना देख्न थालेका छन् । उक्त सूचनामा अनधिकृत एआई एजेन्टबाट निरन्तर पहुँच हुनु अमेजनका प्रयोगका सर्तविपरीत हुने उल्लेख गरिएको छ ।
अमेजनले मेटालाई यसअघि स्वेच्छिक रूपमा आफ्नो प्लेटफर्मबाट म्युज हटाउन आग्रह गरेको थियो । तर मेटाले उक्त आग्रह अस्वीकार गरेपछि आफ्नो प्लेटफर्ममा म्युजको पहुँच रोक्नुपरेको अमेजनले जनाएको छ ।
यता, मेटाले भने म्युजमार्फत प्रयोगकर्ताका क्रेडेन्सियल सुरक्षित रहने र प्रयोगकर्ताको डाटा एआई तालिमका लागि प्रयोग नगरिने दाबी गरेको छ ।
अमेजनको पछिल्लो कदमले एआई एजेन्टलाई अनलाइन प्लेटफर्ममा प्रयोगकर्ताको प्रतिनिधिका रूपमा काम गर्न दिने विषयमा गोपनीयता, सुरक्षा र प्लेटफर्मको अनुमति सम्बन्धी प्रश्न थप पेचिलो बनेको छ ।
आईसीटी समाचार