कीवर्डहरू -

पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न

पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न

मङ्गलबार नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको प्रस्तुति, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र नवप्रवर्तनात्मक सामग्रीको प्रदर्शनीका साथ सम्पन्न भएको हो ।

प्रमुख अतिथिको रूपमा सम्मेलनलाई सम्बोधन गर्न पुगेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री शिशिर खनालले गुणस्तरीय शिक्षाका लागि पर्याप्त रूपमा आवश्यक पूर्वाधार नै नभएको बताए ।

“सबै विद्यार्थीको पहुँचमा इन्टरनेट र बिजुलीको पहुँच अझै पुग्न सकिरहेको छैन,” उनले भने, “यस्ता आधारभूत पूर्वाधार विस्तार गरेर स्कुल तहबाटै विद्यार्थीलाई अन्तरिक्ष विज्ञान, नानो टेक्नोलोजी र इनोभेसन जस्ता उत्साहको क्षेत्रसँग जोड्न आवश्यक छ । ”

एआई प्रविधिले अबको समाज र अर्थतन्त्रलाई निर्धारण गर्ने भन्दै मन्त्री खनालले रोजगारी र अध्ययनका नाममा ठूलो सङ्ख्यामा विदेश गइरहेका युवाहरूलाई स्वदेशमै रोक्नु अहिलेको मुख्य चुनौती भएको बताए । “सम्मेलनले यो महत्त्वपूर्ण समस्याको समाधान समेत पहिचान गर्नेछ,” उनले भने ।

नीति आयोगमा अटल इनोभेसनका पहिलो मिसन डाइरेक्टर रहेका आर रहमानले मुख्य वक्ताको रूपमा सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले तल्लो तहबाटै इनोभेसन सुरु गर्नुपर्ने सुझाव दिए ।

“नेपालले उत्पादनमूलक उद्योगमा थ्रीडी प्रिन्टिङ र रोबोटिक्स प्रविधि, कृषिमा ड्रोन र अन्तर्राष्ट्रिय जगतमा बजार विस्तार गर्न क्लाउड सेवाहरू प्रयोगमा ल्याउन सक्छ,” उनले भने, उनले भने, “त्यसका लागि स्कुल तहबाटै विद्यार्थीमा इनोभेसन माइन्डसेन तयार पार्न आवश्यक पर्छ ।”

रहमानले जलविद्युत पार्क, भीआर प्रविधिमार्फत पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रमा काम गर्न सके नयाँ अवसर सिर्जना हुनसक्ने सम्भावना समेत औँल्याए । नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले सुनौलो भविष्यका लागि इनोभेसनमा केन्द्रित हुनुपर्ने जोड दिए ।

“नास्टले इनोभेसनमा केन्द्रित भएर भविष्य निर्माण गर्ने सोचका साथ काम गरिरहेको छ,” उनले भने । डा. ढकालले प्राज्ञ, सरकार र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वैज्ञानिक तथा नवप्रवर्तकलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास कार्यका लागि एकदमै न्यून मात्रामा बजेट छुट्याइने गरेको दृष्टान्त पेश गरे । तर काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापाले भने नवप्रवर्तनका लागि नीति, कानून र बजेटभन्दा सोच प्रमुख विषय भएकोमा जोड दिए ।

उपकूलपति थापाले अहिलेको समयमा इनोभेसनलाई रोजगारी र स्टार्टअपसँग जोड्नुपर्ने अपरिहार्य आवश्यकताको विषय भएको उल्लेख गरे । “नवप्रवर्तनले सहयोग र अनुदानको भरमा दिगोपन र स्थायित्व पाउन सक्दैन,” उनले भने, “त्यसका लागि व्यवसायिक रूपमा अगाडि बढ्नुपर्ने हुन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले नवप्रवर्तन नीति २०७६ लाई कार्यान्वयन गर्न कार्ययोजनालाई अन्तिम रूप दिने प्रयास भइरहेको जानकारी गराइन् ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल, महिला उद्यमी महासङ्घकी अध्यक्ष निरु रायमाझी खत्री, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा गोविन्द नेपाल, नास्टका प्राज्ञ डा रमेशकुमार मास्के, एफवान सफ्टका सीईओ सुवास शर्मा लगायत प्यानलिस्टको रूपमा रहेका थिए ।

सम्मेलनका क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी एक्सन प्लान र विश्व नवप्रवर्तन सूचकाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सूचकाङ्क लगायत विषयमा छलफल भएको थियो ।

सम्मेलनमा द एसिया फाउन्डेसनका साथै यूके एड, नक्सा र रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान) को सहकार्य रहेको थियो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ र यूएसएआईडीको सहकार्यका साथै टेकपाना मिडिया पार्टनरको रूपमा रहेको थियो ।