कीवर्डहरू -

लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने

लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ  । मंगलबार लुम्बिनी प्रदेशले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरिएको छ ।

‘विज्ञान प्रविधि, अनुसन्धान तथा विकास, सीप विकास, सीप तथा सीपमूलक तालिमको नियमन, बहुप्राविधिक शिक्षालयको व्यवस्थापनका लागि प्रदेश सरकारको स्वामित्वमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

साथै हरेक जिल्लामा स्थानीय तहसँगको सह-लगानीमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याईने र पूर्वी रुकुमको भुमेमा बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण कार्य थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशको विकासको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, वन, कृषि, सूचना प्रविधि र ईन्जिनियरिङलाई प्राथमिकतामा राखी प्रदेशको पूर्ण स्वामित्वमा बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गरी प्राविधिक विषयमा पठनपाठन सञ्चालन गरिने जनाइएको छ ।

त्यस्तै प्रदेशको आवश्यकताका आधारमा प्राविधिक विषयमा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी गरिने बताइएको छ।