कीवर्डहरू -

पब्लिक वाईफाई सुरक्षित रूपमा यसरी गर्नुहोस् प्रयोग

पब्लिक वाईफाई सुरक्षित रूपमा यसरी गर्नुहोस् प्रयोग

इन्टरनेट आज मानिसको दैनिक आवश्यकता बनिसकेको छ । कोरोना महामारीमा त झन यसको आवश्यकता झनै बढेको छ ।

अनलाइन कक्षा, अनलाइन मिटिङ, भर्चुअल काम लगायतका अन्य काममा इन्टरनेट प्रयोग हुने गरेको छ । हामी कहिलेकाही आफ्नो कोठाभन्दा बाहिर गएको अवस्थामा पब्लिक वाईफाई प्रयोग गर्छौं ।

तर सुरक्षित तरिकाले पब्लिक वाईफाई प्रयोग नगर्दा खतरा हुन सक्छ । त्यसकारण आज हामीले पब्लिक वाईफाई चलाउँदा कसरी सुरक्षित रहन सक्छौँ भन्ने बारे चर्चा गर्दैछौं ।

सधैँ डिभाइसमा ध्यान दिऔँ

आफूले पब्लिक नेटवर्कमा सुरक्षित रहने पहिलो कदम आफूले प्रयोग गर्ने डिभाइको सेटिङ हो । त्यसैले गर्दा तपाईको डिभाइस ‘automatically connect to Wi-Fi’ अप्सनमा कनेक्ट नभएको हुनुपर्दछ ।

जहाँ जुनुसुकै बेला भेटिएका जुनसुकै वाईफाईमा आफ्नो डिभाइस कनेक्ट हुन नदिन यो अप्सनलाई टर्न अफ गर्नु पर्दछ । नत्र तपाईको डिभाइस तथा प्राइभेसीमा सुरक्षा खतरा आउन सक्दछ ।

प्रयोग गर्नुस् र विर्सिदिनुस्

माथि उल्लेख गरिएको कुरालाई मध्यनजरमा राख्दै उपलब्ध वाईफाईलाई म्यानुअल्ली कनेक्ट गर्नुहोस् । म्यानुअल्ली कनेक्ट गरेर प्रयोग गरिएको वाईफाई नेटवर्कलाई प्रयोगपछि फर्गेट गर्न सकिन्छ । यसले गर्दा सो नेटवर्कमा तपाईको डिभाइस भविष्यमा स्वतः कनेक्ट हुँदैन

सावधानी अपनाउने

इन्टरनेटको दुनियाँमा छिरिसकेपछि होसियार हुनु आवश्यक छ । तपाईले प्रयोग गर्ने नेटवर्क तथा वेबसाइटलाई दोहोर्याएर जाँच गर्नुहोस् किन कि सबै पब्लिक वाईफाई नेटवर्क विश्वसनीय हुन्छन् नै भन्ने छैन ।

त्यसैले गर्दा कनेक्ट हुने हरेक पब्लिक स्पेसलाई विश्वास गरि नहाल्नुहोस् । त्यसको पछाडि कुनै साइबर अपराधिको पनि हात हुन सक्छ । यसले गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

एन्टिभाइरसको प्रयोग

तपाईले प्रयोग गर्ने हरेक डिभाइसलाई ह्याकरहरुबाट जोगाउनका लागि बलियो एन्टिभाइरस सोलुसन प्रयोग गर्नु पर्दछ । यसले गर्दा ह्याकिङ, मालवेयर अट्याक र अन्य भाइरसहरुबाट डिभाइसलाई सुरक्षित राख्न सकिन्छ ।

एन्टिभाइरसलाई इन्स्टल गरेर मात्र नछोड्नुस् । नयाँ नयाँ थ्रेटसँग जुध्नको लागि एन्टिभाइरसलाई बेला बेलामा अपडेट गरिरहनुहोस् ।

आवश्यक खोजिनीति गर्नूहोस्

उपलब्ध भएको पब्लिक नेटवर्कलाई जाँच गर्न नहिच्किचाउनुहोस् । होटल, रेस्टुरेन्ट वा कुनै क्षेत्र जसले पब्लिक वाईफाई उपलब्ध गराए पनि आफ्नो डिभाइसमा कनेक्ट गर्नुअघि सो वाईफाईको अथेन्टिकेशन र आइपि एड्रेसको विवरणबारे जानकारी लिनुहोस् । यसरी आइपर्न सक्ने धेरै समस्याहरुबाट तपाई जोगिन सक्नुहुन्छ ।

पासवर्ड आवश्यक पर्ने साइट नचलाउनुस्

पब्लिक वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईको संवेदनशिल सूचना टाइप नगर्नुस् । साथै तपाईको पासवर्ड राखेर लगइन गर्नु पर्ने वेबसाइटहरु नचलाउनुहोस् ।

सोसल मिडिया साइटहरु, व्यक्तिगत मेल आइडी, बैंक अकाउन्ट एप तथा वेबसाइट विल्कुलै नचलाउनुहोस् ।

भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)

तपाईलाई वाईफाई नेटवर्क प्रयोग गर्नुपर्ने अति आवश्यकता छ भने भिपिएन बाट प्रयोग गर्नुहोस् ।

भिपिएनमार्फत गरिएको इन्टरनेट कनेक्टिभिटीमा इन्क्रिप्टेड मेसेजहरु प्राप्त हुन्छ जसले गर्दा ह्याकरलाई ह्याक गर्न गाह्रो हुन्छ र आइपी एड्रेसलाई पनि जोगाएर तपाईको डिभाइसको सुरक्षा गर्दछ ।

यसले तपाईलाई फिशिङको खतराबाट पनि जोगाउँदछ ।

एचटिटिपिएसमा हेर्नुहोस्

सबै सेक्युरिटीका विधिहरु अपनाइसकेर पब्लिक वाईफाई नेटवर्कमा कनेक्ट भइसकेपछि तपाईले भिजिट गर्ने वेवसाइट सुरक्षित छन् छैनन् सो बारे निश्चित हुनु आवश्यक छ ।

वेबसाइट सर्फ गरिरहदा एचटिटिपिएसबाट सुरुहुने युआरएल अथात् एड्रेस बारमा हरियो बक्स भए नभएको सुनिश्चित गर्नुहोस् ।

हरियो बक्सले उक्त साइट सुरक्षित र भ्यालिड डिजिटल सर्टिफिकेट तथा एसएसएल÷टिएलएस इन्क्रिप्शन अपडेट हो भन्ने थाहा हुन्छ ।

टुफ्याक्टर अथेन्टिकेशन अपनाउनुहोस्

भेरिफिकेशन अर्थात् अथेन्टिफिकेशन प्रोसेसलाई दुई गुणा मजबुद बनाउनको लागि टु–फ्याक्टर अथेन्टिफिकेशन को प्रयोग गर्न सकिन्छ ।

हट्स्टपट प्रयोग गर्न टुफ्याक्टर अथेन्टिकेशन सक्रिय गरेको खण्डमा साइबर अपराधसम्बन्धि आक्रमणबाट बच्न थप एउटा सुरक्षाको तह थपिन्छ ।

प्रयोगपछि साइट लग आउट गर्नुस्

पब्लिक वायरलेस कनेक्सनबाट डिस्कनेक्ट गर्नुअघि तपाइले लग इन गरेका सम्पूर्ण साइट लग आउट गर्नुहोस् ।

लग आउट नगर्दा कुनै ह्याकरको हानीकारक अट्याचमेन्ट पनि आएको हुन सक्दछ । त्यसैले गर्दा तपाई जति नै थोरै समय वाईफाई नेटवर्कमा बसेको भए पनि लग आउट गर्नु बुद्धिमानि हुन्छ ।