काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रूपमा उपलब्ध गराउने उद्देश्यले वेबसाइटमा एकीकृत ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ ।
नयाँ ड्यासबोर्डमार्फत मन्त्रालयअन्तर्गत भइरहेका विभिन्न कार्यक्रम, सेवा प्रवाह र कार्यसम्पादनको अवस्था नागरिकले एउटै प्लेटफर्मबाट सहज रूपमा हेर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
ड्यासबोर्डमा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया, ऋण असुलीको प्रगति, सुकुम्बासीलाई लालपुर्जा वितरण, स्थानीय तहमार्फत प्रदान गरिने नापी तथा मालपोत सेवा, सहकारीको अनुगमन तथा प्रदेशस्तरसम्म विस्तार गरिएको निजामती अस्पताल सेवासम्बन्धी विवरण समेटिएको छ ।
यसका साथै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था, भोगाधिकारसम्बन्धी गतिविधि, गुठी जग्गा अतिक्रमण नियन्त्रणका प्रयास तथा ‘मेरो कित्ता’ मोबाइल एपसँग सम्बन्धित सेवासमेत क्रमशः ड्यासबोर्डमा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस प्रणालीले मन्त्रालयका कामकारबाहीलाई थप पारदर्शी बनाउनुका साथै सेवा प्रवाहको प्रभावकारिता बढाउने, नागरिकलाई वास्तविक प्रगति जानकारी गराउने र सार्वजनिक जवाफदेहिता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार