कीवर्डहरू -

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले महानगरीय प्रहरी परिसर भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गरेका छन् ।

भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीहरूको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले सिसिटिभी क्यामेरा जडान गर्न सहयोग गर्ने दाताहरू, जडान समितिका पदाधिकारीहरू, पूर्व प्रहरी उपरीक्षक ध्रुब रत्न हाडा तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गरे ।

सो अवसरमा उनले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न सिसिटिभीले ठूलो सहयोग पुर्‍याउने चर्चा गर्दै आगामी दिनमा समेत यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताए । कुनै पनि घटनाको सफल अनुसन्धानका लागि सिसिटिभी क्यामेराले सहजता प्रदान गर्ने उनले चर्चा गरे ।

कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले समाजमा लगानी गरेको कुरा कुनै समयमा पनि नष्ट नहुने भएकाले सिसिटिभी जडानमा आर्थिक सहयोग पुर्‍याउने दाताहरूलाई धन्यवाद दिए । सिसिटिभीले अपराधीलाई निरुत्साहित बनाउन सहयोग पुग्ने उनले चर्चा गरे ।

भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रदिप श्रेष्ठले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवि थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

साथै प्राईम कमर्सियल बैंक लिमिटेडका जनरल म्यानेजर संजिव मानन्धर, भक्तपुर जिल्ला पत्रकार महासंघका अध्यक्ष जगत प्रजापती, सिसिटिभी क्यामेरा जडान समितिका ईन्जिनियर मेनसन लाखेमरू, जडान समितिका कोषाध्यक्ष नविन प्रजापति लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।