कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणबाट बिदा भए वरिष्ठ निर्देशक खनाल

नेपाल दूरसञ्चार प्राधिकरणबाट बिदा भए वरिष्ठ निर्देशक खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले शनिबारदेखि अनिवार्य अवकाश पाएका छन् । खनाललाई प्राधिकरणले शुक्रबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको थियो ।

१५ वर्ष ४ महिना २४ दिनको सेवा पूरा गरी वरिष्ठ निर्देशक पदको चार वर्षे सेवा अवधिका कारण शनिबारबाट उनले अनिवार्य अवकाश पाएका हुन् ।

अवकाश पाएपछि ट्विट गर्दै खनालले भने, ‘मैले पाएको कष्टलाई हिजोको अत्यन्तै आत्मिय र भावुक बिदाइले बिर्साइ दिएर अवकाशलाई स्मरणीय बनाएको छ । मलाई लाग्छ-हामी त आ-आफ्ना प्रारब्धले तय गरेको नाटकका पात्रमात्रै हौँ । कसै प्रति द्वैष, घृणा,क्रोध केही नराखी सानन्द बिदाइ हुने वातावरण सिर्जना गर्ने सबैलाई हार्दिक धन्यवाद ।’

खनालले २०६२ साल चैत २२ गते खुला प्रतिस्पर्धाबाट प्राधिकरणको निर्देशक तहमा नियुक्ति पाएका थिए । उनले यसअघि प्राधिकरणमा निमित्त अध्यक्षको रुपमा समेत २२ महिना काम गरेका थिए ।

२०७४ साउन १७ गते वरिष्ठ निर्देशकमा बढुवा भएका खनाललाई तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमा तानेर जिम्मेवारी बिहिन बनाइदिएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट खनालको बिदा भएसँगै प्राधिकरणमा वरिष्ठ निर्देशकका दुई पद खाली भएका छन् ।