कीवर्डहरू -

पुरानो बेचेर ‘रिफर्बिस्ड फोन’ किन्ने ठाउँ, अनलाइनमै चेक गर्नुहोस् पुरानो मोबाइलको मूल्य

पुरानो बेचेर ‘रिफर्बिस्ड फोन’ किन्ने ठाउँ, अनलाइनमै चेक गर्नुहोस् पुरानो मोबाइलको मूल्य

सिन्धुलीका उत्तम काफ्लेले दुई वर्षअघि एउटा आइडिया निकाले, पुराना विद्युतीय उपकरणलाई पुनः प्रयोग गर्न सकिने बनाउने । अर्थात, पुराना भएका स्मार्टफोन, ल्यापटप जस्ता पुराना सामग्री खरिद गर्ने र पुनः प्रयोग गर्न सकिने बनाउने ।

उनको आइडियाले तीनतिर फाइदा हुने भयो । पहिलो त पुराना भएर थन्किएका फोन, ल्यापटपहरु बिक्री हुने भए । अर्को पक्ष भनेको महंगो मूल्य हालेर स्मार्टफोन र ल्यापटप किन्न नसक्नेलाई सस्तोमा ‘नयाँ जस्तै’ सामान पाउने भए ।

अर्को महत्वपूण कुरा मुलुकमा समस्याको रुपमा फैलिदै गरेको विद्युतीय फोहोर (ई-वेस्ट)को व्यवस्थापनमा सहयोग पुग्ने भयो ।

घरघरमा बढ्दै गएका पुराना स्मार्टफोन, ल्यापटक जस्ता व्यवस्थापन र पुनः प्रयोग कसरी गर्ने भन्ने विषयमा कानुन तथा नीतिको अभाव छ । यसको व्यवस्थापनको लागि राज्यबाट नीतिगत प्रावधान नआए पनि जनस्तरबाट केही काम हुन थालेका छन् ।

एउटा उदाहरण उनै काफ्ले हुन, जसले ‘रिफर्बिस्ड फोन’ बनाउने काम सुरु गरे । साढे २ वर्ष अघि ललितपुरकी शुभेच्छा तिवारीसँग मिलेर उनले ललिपुरको सानेपामा ‘रिफर्बिस्ड फोन’ बनाएर बिक्री गर्ने कम्पनी ‘ सबको फोन ’ स्थापना गरे ।

स्थानीय स्तरमा विद्युतीय फोहोर कम गर्न र विद्युतीय उपकरणलाई पुनः प्रयोग गरेर स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउन सकिन्छ भन्ने सोँचले ‘सबको फोन’ स्थापना भएको संस्थापक काफ्लेले बताउँछन् ।

‘रिफर्बिस्ड फोन’ बिक्री गर्दा हामीले फोन मात्र बेच्दैनौं । एउटा फोनको पुनः प्रयोग पनि हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘घरमा भएको पुरानो फोन ‘सबको फोन’मा आएर रिफर्बिस्ड भएर फेरि बजारमा जान्छ । त्यो कम्तिमा १-२ वर्षका लागि त फोहोर बनेन नी ।’

\"\"

रिफर्बिस्ड फोनले मानिसको आवश्यकता पनि पुरा गर्ने र आर्थिक भार पनि कम गर्ने उनको भनाइ छ । ‘सबैले प्रिमियम फोन किन्न सक्दैनन्, महंगा छन्,’ उनी भन्छन्, ‘हामीले त्यस्ता उपभोक्ताको लागि पुराना सेट टेक्निकल टिमले परीक्षण गरेर पुनः प्रयोग गर्ने बनाउँछौं । यसले ग्राहकलाई सस्तो र राम्रो फोन प्रयोग गर्न सक्छन्। ’

उनले रिफर्बिस्ड फोनको सफ्टवेयर र हार्डवेयरमा ६ महिनासम्मको ग्यारेन्टी दिन्छन् । उनीहरु फोन मर्मतको काम पनि गर्छन् । मर्मतको काम भने आफ्नो प्राथमिकता नभएको काफ्लेको भनाइ छ ।

अहिलेको प्राथमिकता नेपालमै रहेका पुराना फोन रिफर्बिस्ड गरेर बिक्री गर्ने हो । बाहिरबाट ल्याएर फोन रिफर्बिस्ड योजना उनीहरुको छैन् ।

सबको फोनमा आफ्नो पुरानो फोन पनि बेच्न सकिन्छ । फोनको शुरूवाती मूल्य र फोनमा समस्या आउँदा घट्ने भ्यालुको आधारमा मूल्य तय हुने उनले बताए ।

कम्पनीले विद्यालयहरुमा गएर विद्युतीय सामग्रीको पुनः प्रयोग किन जरूरी छ, रिफर्बिस्ड फोनको महत्व के हो, कसलाई टेवा पुग्छ, विद्युतीय फोहोरको व्यवस्थापन कसरी गर्ने भनेर जनचेतामूलक कार्यक्रम पनि चलाइरहेको छ । उनीहरुले वातावरण संरक्षणका लागि काम गर्ने संस्थासँग पनि काम गर्ने गरेका छन् ।

रिफर्बिस्ड फोन के हो र यो किन जरूरी छ यसको बारेमा जनचेतना जगाउने कार्यक्रम गर्ने उनीहरूको योजना छ । भविष्यमा अन्य विद्युतीय सामग्रीहरु रिफर्बिस्ड गरेर बिक्री गर्ने योजना रहेको उनले सुनाए ।

\"\"

सबको फोनबाट फोन लिएका ग्राहकको प्रतिक्रिया पनि राम्रो आएको उनी बताउँछन् । ‘यो एकदमै राम्रो सेवा भयो । समयको पनि बचत भयो । पैसाको पनि बचत भयो । वातावरण मैत्री भयो भनेर प्रेरित गरिरहनु भएको छ’ उनले खुसी हुँदै ग्राहकको प्रतिक्रिया सुनाए ।

मासिक २ सयवटासम्म रिफर्बिस्ड फोन बजारमा जाने उनले बताए । रिफर्बिस्ड फोन बोक्दा गर्व महुशुस गर्नुपर्ने बताए ।

‘यूरोपका मानिसहरुले सहजरूपमा रिफर्बिस्ड सामानहरु प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘उनीहरू जस्तो धनी देशमा रिफर्बिस्ड सामान प्रयोग भइरहेको छ भने हाम्रो जस्तो गरिबी मूलकमा त झन यो आवश्यकता हो ।’

आफै थाहा पाउनुहोस् तपाईको पुरानो फोनको मूल्य

सबको फोन डटकममा उनीहरुको टिमले एउटा एल्गोरिदम पनि विकास गरेका छन् । त्यहाँ ‘ सेल योर फोन ’ सेक्सनमा सेवाग्राहीले आफ्नो कम्पनीको ब्राण्ड, मोडेल छानेर त्यहाँ सोधिएको सामान्य प्रश्नको उत्तर दिएपछि अनुमानित मूल्य आउँछ । वेबसाइटमा जुन मूल्य आउँछ त्यही मूल्यमा नै आफूहरूले फोन किन्ने उनले बताए।

उनीहरुले सफ्वेयर अपडेट उपलब्ध नहुने र धेरै पुराना फोनहरू रिफर्बिस्ड भने गर्दैनन् । रिफर्बिस्ड गर्दा जुन फोनको मोबाइल हो त्यही फोनको पार्ट पुर्जाहरु प्रयोग गरिन्छ । ‘कहिलेकाँही सामान उपलब्ध भएन भने आउटसोर्स गरेर नयाँ सामान राख्छौं,’ काफ्लेले भने, ‘सफ्टवेयरमा कुनै पनि किसिमको मोडिफिकेसन हुँदैन् ।’

पुराना फोन किन्ने र बेच्ने ठाउँ

सबको फोनमा ६ जनाले रोजगारी पाएका छन् । लकडाउन अघि त्यो संख्या अलि बढी थियो । सबको फोनले काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा रिफर्बिस्ड फोन डेलिभरीसमेत गर्छ ।

साथै कसैले आफ्नो पुरानो फोन बेच्च चाहनुहुन्छ भने पनि घरमै लिन पुग्छन् उनीहरु । यो सेवा पनि काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा उपलब्ध छ ।

\"\"

सबको फोनले अनलाइन डेलिभरी कम्पनीसँग सहकार्य गरी देशका प्रमुख शहरहरूमा डेलिभरी सेवा दिने योजना बनाएको छ । यो सेवा अब छिट्टै उपलब्ध हुनेछ ।

हाम्रो देशमा अझै पनि फलफूल, खानेकुरा मात्रै फोहोर भन्ने धारणा छ । ‘अहिले संसारभरि सबैभन्दा ठूलो फोहोर भनेको विद्युतीय फोहोर हो,’ उनले भने । संसारमा हरेक वर्ष ५० मिलियन मेट्रिक टन विद्युतीय फोहोर उत्पाउन हुन्छ । जसमा आधा फोहोर दक्षिण एशियाबाट मात्रै आउँछ ।

अबको केही वर्षमा हाम्रा डम्पिङ साइटमा फोहोरको रूपमा विद्युतीय फोहोर देख्नुपर्ने पर्ने काफ्ले बताउँछन् । विद्युतीय फोहोरमा मानिस, वातावरण लगायतलाई हानी पुर्‍याउने केमेकिल पनि हुन्छ ।