कीवर्डहरू -

अनलाइनबाट टोकन लिएरमात्र यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

अनलाइनबाट टोकन लिएरमात्र  यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालयमा भेटघाटमा अनलाइन टोकन (इ-पास) सिस्टम लागु गरिसकेको छ । आगामी साउन ३१ गते आईतबारदेखि यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले पनि अनलाइन टोकन सिस्टम लागु गर्दैछ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले कुनै पनि सेवा लिन आउँदा अनलाइन टोकन लिएर आउन अनुरोध गरेको छ । अनलाइन टोकन लिएर नगएमा सेवा प्रदान नहुने कार्यालयले जानकारी दिएको छ ।

अनलाइन टोकन सिस्टम बागमति प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा लागु भइसकेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।

‘अहिले टोकन लिएर आउने र नलिएर आउने सबैलाई सेवा दिएका छौं,’ उनले आइसिटी समाचारसँग कुराकानी गर्दै भने, ‘तर अनलाइन टोकन लिएर आउनेले छिटो सेवा पाउनु हुन्छ । लाइनमा बसेको मान्छे लाइनमै बस्नुहुन्छ । टोकन लिएर आउने मान्छेले समयमै सेवा पाउनुहुन्छ ।’

सेवाग्राहीले यसबाट कुन दिन सेवा लिने हो त्यो दिन चयन गरेर सेवा लिन सक्नेछन् । यसबाट सेवाग्राहीको समय पनि बचत हुने र सेवा लिन पनि सहज हुने विश्वास उनले व्यक्त गरे ।

अनलाइन टोकन सिस्टम यातायात कार्यालयहरूमा सेवा लिन कुन दिन कतिबजे पुग्ने भनी समय निर्धारण गर्छ र कार्यालयहरूमा हुने अनावश्यक भीडभाड कम गरी सुरक्षित रुपमा सेवा प्रदान गर्नका लागि बनाइएको हो ।

एक पटक इ–पास लिईसकेपछि १५ दिनपछि मात्र अर्को इ–पास लिन पाइन्छ । एकपटक इ–पास लिईसकेपछि सोही एक दिनलाई मात्र इ–पासले काम गर्दछ ।

सम्बन्धित काम एक दिनमा नसकिएको खण्डमा उक्त कामको निमित्त दोस्रो दिनको लागि पनि सोही पासको प्रयोग हुनेछ तर काम सम्पन्न नभएको जानकारी कार्यालयमा गराइ अर्को दिनको लागि ट्रान्सफर गर्नुपर्छ ।

सेवा लिन चाहेको सम्बन्धित व्यक्तिले मात्रै इ–पासको अनुरोध गर्नु पर्दछ । उक्त पास सम्बन्धित व्यक्तिले मात्रै प्रयोग गर्न सक्दछ । इ–पास लिईसकेपछि अर्को व्यक्तिलाई दिन या अर्को व्यक्तिलाई साट्न तथा सार्नका पाइदैन् ।

पासमा भरिए बमोजिमको परिचय-पत्र बिना यातायात कार्यालय प्रवेश गर्न निषेध गरिएको छ । यदि परिचय-पत्र देखाउन नसकेमा या परिचय पुष्टि नभएका खण्डमा यातायात कार्यालय प्रवेश गर्न पाइने छैन ।

कसरी लिने अनलाइनबाट टोकन ?

अनलाइन टोकन लिन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ माग भएअनुसार सवारीधनीको नाम थर, सेवा लिन जाने कार्यालय र सेवाको किसिम छनोट गर्नुहोस् । यति गरेपछि आफ्नो मोबाइलमा आएको भेरिफिकेसन कोड फाराममा भरेपछि टोकन बुक हुन्छ ।

कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाइलमा आएको टोकन वा एसएमएस लिएर तपाईले टोकन भर्दा रोज्नु भएको दिनमा कार्यालय जानुपर्नेछ ।

यातायात कार्यालयले प्रत्येक दिन कतिवटा अनलाइन टोकन जारी गर्छ भन्ने कुरा यहाँ क्लिक गरी हर्न सकिने छ ।