काठमाडौं । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई च्याटबट क्लाउडको गुगल वर्कस्पेस कनेक्टर अपडेट गरेको छ । नयाँ अपडेटसँगै क्लाउडले जिमेल र गुगल ड्राइभमा यसअघि भन्दा थप काम गर्न सक्ने भएको छ ।
अपडेटपछि क्लाउडले प्रयोगकर्ताको अनुमति लिएर जिमेलबाट इमेल पठाउन, प्राप्त इमेलको रिप्लाई गर्न र इमेल फर्वार्ड गर्न सक्नेछ । यसका साथै क्लाउडले इमेलको ड्राफ्ट तयार गर्न, इमेलका विवरण हेर्न, लेबल तथा थ्रेडमार्फत इमेल व्यवस्थित गर्न र सेभ गरिएका ड्राफ्ट हेर्न समेत सक्नेछ ।
यी काम क्लाउडको च्याट विन्डोबाटै गर्न सकिनेछ । एन्थ्रोपिकका अनुसार, क्लाउडले इमेल पठाउने, रिप्लाई गर्ने वा फर्वार्ड गर्नुअघि हरेक पटक प्रयोगकर्ताको अनुमति माग्नेछ । यद्यपि, टिम र इन्टरप्राइज प्लान प्रयोग गर्ने संस्थाले चाहेमा यी कामका लागि हरेक पटक पूर्वअनुमति लिनुपर्ने व्यवस्था हटाउन सक्नेछन् ।
त्यस्तै, क्लाउडले अब गुगल ड्राइभका फाइल तथा फोल्डर व्यवस्थापन गर्न पनि सक्नेछ । प्रयोगकर्ताले क्लाउडमार्फत गुगल ड्राइभमा रहेका फाइल खोज्न, फाइल डाउनलोड गर्न, सेयर गर्न, अर्को स्थानमा सार्न र डिलिट गर्न सक्नेछन् ।
साथै, फाइलको विवरण हेर्न, कागजात पढ्न, नयाँ फोल्डर बनाउन र क्लाउडले तयार गरेका फाइल सिधै गुगल ड्राइभमा सेभ गर्नसमेत सकिनेछ । यसअघि नै क्लाउडमा जिमेल, गुगल ड्राइभ र गुगल क्यालेन्डर कनेक्ट गर्ने सुविधा उपलब्ध थियो । नयाँ अपडेटले यी सेवासँग क्लाउडको अन्तरक्रिया थप विस्तार गरेको हो ।
गुगल क्यालेन्डर कनेक्टरमार्फत क्लाउडले कार्यक्रम हेर्न, नयाँ कार्यक्रम बनाउन, सहभागीहरूका लागि उपयुक्त समय खोज्न, बैठक तय गर्न तथा सहभागीहरूको सूची व्यवस्थापन गर्न सक्छ । एन्थ्रोपिकका अनुसार क्लाउड र क्लाउड डेस्कटप प्रयोग गर्ने प्रयोगकर्ताका लागि गुगल वर्कस्पेस कनेक्टर उपलब्ध छन् ।
टिम र इन्टरप्राइज प्लान प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न कनेक्टर सक्षम गर्नुपर्नेछ । नयाँ सुविधाले क्लाउडलाई केवल प्रश्नको उत्तर दिने एआई च्याटबटभन्दा अगाडि बढाउँदै जिमेल, गुगल ड्राइभ र गुगल क्यालेन्डरजस्ता दैनिक कार्यमा प्रत्यक्ष सहयोग गर्ने डिजिटल सहायकका रूपमा प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार