कीवर्डहरू -

यस्तो छ अनलाइनबाट कमाउने तरिका !

यस्तो छ अनलाइनबाट कमाउने तरिका !

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मात्रै होइन, रोजगारीका नयाँ अवसर सृजना भइरहेका छन् । घरमै बसेर मनग्गे कमाउन सकिने अवस्था आएको छ । अनलाइनमा बसेर जति धेरै काम गर्न सक्यो, उति दाम कमाउन सकिन्छ । यसका लागि तपाईंंसँग शीप भने चाहिन्छ । शीप छैन वा कमजोर महसूस गर्नुहुन्छ भने आजैदेखि क्षमता बढाउनतिर लाग्नुहोस् । हामी तपाईंंलाई घरमै बसेर कसरी पैसा कमाउन सकिन्छ भन्ने जानकारी दिँदै छौं :

फ्रिल्यान्सर : फ्रिल्यान्सर भएर तपाईंं घरमै बसेर पैसा कमाउन सक्नुहुन्छ । तर, यसका लागि तपाईंंसँग विभिन्न शीपको आवश्यकता पर्दछ । जस्तै– डिजाइन गर्न, मोबाइल एप बनाउन, वेबसाइट बनाउन, भ्वाइस ओभर तथा अन्य थुप्रै काम गर्न सकिन्छ । यी काम सिक्न तपाईंले अनलाइनमार्फत थुप्रै कोर्स भेटाउन सक्नुहुन्छ । यी काम सिक्न तपाईंले युट्युब, Udemy Udacity Edx Google को सहयोग पनि लिन सक्नुहुन्छ । फ्रिल्यान्सर भएर काम गर्न तपाईंं www.freelancer.com, www.upwork.com, www.fiverr.com तथा अन्य वेबसाइटमा आफ्नो प्रोफाइल बनाएर त्यहाँ भएका काम आफ्नो क्षमता अनुसार लिन सक्नुहुन्छ र पैसा कमाउन सक्नुहुन्छ ।

डिजिटल मार्केटिङ: डिजिटल मार्केटिङमा काम गर्न तपाईंसँग सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेशन, इमेल मार्केटिङ तथा अन्य माध्यमको ज्ञान हुनुपर्छ । यदि तपाईंसँग यस्तो ज्ञान छैन भने अनलाइनबाट हासिल गर्न सक्नु हुनेछ । प्रतिस्पर्धाको युगमा सबैसँग प्रतिस्पर्धा गर्न र आफ्नो बिजनेश बढाउन अब हरेक कम्पनीलाई डिजिटल मार्केटिङको आवश्यकता पर्दछ । डिजिटल मार्केटिङ सिक्न अनलाइन माध्यम outube, Edx, Udemy र Google मा थुप्रै कोर्सहरु प्राप्त गर्न सक्नुहुनेछ ।

एफिलियटेड मार्केटिङ : एफिलियटेड मार्केटिङ भनेको विभिन्न ई–कर्मश अनलाइन र ग्राहकबीच एउटा पुलको काम गर्ने हो । तपाईंले एफिलियटेड मार्केटिङ कार्यक्रममा सामेल भएर पैसा कमाउन सक्नु हुनेछ । Affiliate Program मा निःशुल्क रूपमा सदस्य बन्न सकिन्छ । यसमा सामेल भइसकेपछि तपाईंले प्रोडक्ट बेचेबापत कमिशन आउँछ, जुन कमिशन नै  कमाइ हाे । जस्तै– अमेजनमा अफिलियटेड मेम्बर बन्नपर्याे भने तपाईं गुगलमा जानुहोस् र Amazon affiliate program सर्च गर्नुहोस् । यो गरिसकेपछि यसको पहिलो लिंकमा गएर भनेअनुसार फम भर्नुहोस् र सदस्य बन्नुहोस् । अमेजनजस्ता थुप्रै ई–कमर्श छन् । त्यहाँबाट तपाईं पैसा कमाउन सक्नुहुन्छ ।

ब्लगर : ब्लगबाट पनि पैसा कमाउन सकिन्छ । तपाई www.blogger.com मा गई आफ्नो ब्लगर बनाईसकेपछि त्यहाँ आफूले विभिन्न किसिमका कन्टेन्टहरु लेखेर सार्वजनिक गर्नुपर्ने  हुन्छ । त्यसपछि तपाईले एडसेन्स एकाउन्ट बनाएर एडसेन्स एकाउन्ट एप्रुभ भैसकेपछि ब्लगरमा विज्ञापन देखिन्छ । त्यही विज्ञापन नै तपाईंको आम्दानीको श्रोत हो । ब्लगर गुगलको प्रडक्ट हो, जहाँ तपाईंले निशुल्क डोमेन र होस्टिङ सुविधा प्राप्त गर्नुहुन्छ ।

युट्युब : गुगलको प्रडक्ट रहेको युट्युबमा महिनामा करिब ६ हजार घण्टा भिडियो हेरिन्छ । यसमा तपाईंले आफ्नो जिमेल एकाउन्टबाट युट्युब अकाउन्ट बनाइसकेपछि तपाईंंको युट्युुब एकाउन्टमा भिडियोहरू राख्नुपर्ने हुन्छ । भिडियो राख्दा अरूको चोरर राख्नु हुँदैन । साथै, यसका लागि युट्युबको नियम पछ्याउनु पर्ने हुन्छ । कस्ता किसिमका भिडियो युट्युबमा राख्ने, कस्ता किसिमका भिडियो नराख्ने भन्ने जानकारी हुनुपर्दछ । तपाईंले युट्युबबाट पैसा कमाउन १ हजार सब्स्क्राइबर र ४ हजार घण्टा वाच टाइम हुनुपर्छ । यति भएपछि तपाईंंको  मोनिटाइजेशन अन हुन्छ र भिडियो विज्ञापन आउँछ । त्यही विज्ञापनबाट तपाईंंको आम्दानी हुन्छ । यसका लागि पनि तपाईंलाई एडसेन्स एकाउन्ट चाहिन्छ ।

फेसबुक : तपाईसँग एउटा वेबसाइट छ भने Facebook Instant Articles अन गरेर फेसबुकबाट राम्रो आम्दानी गर्न सक्नुहुन्छ । त्यसै गरेर फेसबुकले अहिले नयाँ सुविधा ल्याएको छ Facebook For Creator। यो भनेको युट्युब जस्तै हो, जहाँ तपाईले आफैले भिडियो बनाएर फेसबुक पेजमा राखी आम्दानी गर्न सक्नुहुन्छ ।

वेबसाइट डिजाइन : तपाईसँग वेबसाइट डिजाइन गर्ने सीप छ भने घरमै बसेर विभिन्न कम्पनीमा काम गर्न सक्नुहुन्छ । यसको लागि तपाईसँग प्रोग्रामिङको ज्ञान हुन आवश्यक छ । वेबसाइट डिजाइन गर्न HTML,CSS, JAVA SCRIPT, PHP आदिको ज्ञान भएपछि एउटा राम्रो वेबसाइट डिजाइन गर्न सकिन्छ । वेबसाइट बनाउन Sublime, VsCode, Notpadd++ तथा अन्य टेक्स्ट इडिटर प्रयोग गर्न सक्नुहुन्छ ।

एप डेभलपमेन्ट : तपाईं फेसबुक युट्युब तथा अन्य मोबाइल एपहरु प्रयोग गर्नु हुन्छ होला । यस्तै प्रकारका मोबाइल एप बनाएर पैसा कमाउन सक्नुनेछ । यसको लागि पनि तपाईंलाई प्रोग्रामिङको ज्ञान हुन जरुरी छ । एप बनाउन धेरै प्रोग्रामिङ भाषा छन् । Java Kotlin बाट Android App  बाट बन्छन भने Flutter को कोडबाट  Android र IOS एप बन्छन । Swift Or Object C बाट आईओएसको लागि मात्र एप बन्छन । एप बनाउन तपाईले Android Studio , Visual Studio Code Atom तथा अन्य टेक्स्ट इडिटर प्रयोग गर्न सक्नुहुन्छ ।

सफ्टवेयर डेभलपमेन्ट : तपाईको कामलाई सहज र सरल बनाउन सफ्टवेयरको पनि महत्त्व भूमिका रहन्छ । अहिले सरकारी अफिस तथा निजि अफिसमा सफ्टवेयरको माग धेरै छ । तपाईले सफ्टवेयर बनाउन सक्नुभयो भने राम्रो आम्दानी गर्न सक्नुहुन्छ । सफ्टवेयर बनाउन C#, .Net, Java प्रोग्रामिङ तथा अन्य प्रोग्रामिङको आवश्यकता पर्छ । अहिले प्रोग्रामिङमा पनि धेरै अपडेटहरु आइसकेको छन । अन्तराष्ट्रिय बजारमा सफ्टवेयर बनाएर बिक्री गर्न राम्रै टिमको आवश्यकता पर्दछ । नेपालमा दर्जनौ कम्पनीहरुले बाहिरकाे बजारका लागि सफ्टवेयरको काम गरिरहेका छन ।

यी र यस्ता केही टुल वा माध्यमबाट अनलाइनबाट अर्थात् घरमै बसेर पैसा कमाउन सकिन्छ । पछिल्लो समय नेपालमा सामान्य प्रिन्सिङदेखि ठूला आइटी कम्पनीमार्फत् विदेशी बजारको लागि काम गर्ने प्रचलन बढेको छ । सामान्य कामहरु गर्न तपाईं एक्लै पनि सक्नुहुन्छ तर, टिम वा कम्पनीमार्फत काम गर्दा अझ विश्वासिलो र सजिलो हुनसक्छ ।