कीवर्डहरू -

इन्स्टाग्राममा ‘फर्स्ट ड्राफ्ट’ फिचर, रील्सका भिडियो आफैं छोट्याउन सकिने

इन्स्टाग्राममा ‘फर्स्ट ड्राफ्ट’ फिचर, रील्सका भिडियो आफैं छोट्याउन सकिने

काठमाडौं । मेटाले इन्स्टाग्राममा रील्सका भिडियो सम्पादनलाई सहज बनाउने नयाँ सुविधा सार्वजनिक गरेको छ । ‘फर्स्ट ड्राफ्ट’ नाम दिइएको यो फिचरले भिडियोमा रहेका अनावश्यक खाली समय तथा रोकिएका भाग स्वतः हटाएर छोटो क्लिप तयार गर्न सहयोग गर्नेछ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा भिडियो छनोट गरी ‘First Draft’ विकल्पमा ट्याप गर्नुपर्नेछ । त्यसपछि प्रणालीले भिडियोमा रहेका अनावश्यक भाग पहिचान गरी छोट्याएको संस्करण तयार गर्नेछ । तयार भएको भिडियोमा प्रयोगकर्ताले आवश्यक थप सम्पादन गर्न सक्नेछन् र त्यसलाई रील्स, फिड वा स्टोरीमा पोस्ट गर्न सकिनेछ ।

मेटाका अनुसार, ‘फर्स्ट ड्राफ्ट’ को उद्देश्य भिडियो सम्पादनमा लाग्ने समय घटाउनु र प्रयोगकर्तालाई छोटो तथा आकर्षक रील्स तयार गर्न सहज बनाउनु हो । मेटाले यसअघि सन् २०२५ अप्रिलमा ‘Edits’ नामको छुट्टै भिडियो एडिटिङ एप सार्वजनिक गरेको थियो ।

रील्स निर्माणलाई सहज बनाउन उक्त एपमा विभिन्न भिडियो सम्पादन तथा एआईमा आधारित सुविधाहरू समावेश गरिएको थियो । तर, इन्स्टाग्रामको ‘फर्स्ट ड्राफ्ट’ फिचर सार्वजनिक गर्ने क्रममा मेटाले यसमा एआई प्रविधि प्रयोग भएको उल्लेख गरेको छैन । यसले इन्स्टाग्रामको भिडियो सम्पादन सुविधालाई थप सरल बनाउने अपेक्षा गरिएको छ ।

मेटाका अनुसार ‘फर्स्ट ड्राफ्ट’ सुविधा प्रारम्भिक चरणमा iOS प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध हुनेछ भन्नेबारे भने कम्पनीले कुनै समयसीमा सार्वजनिक गरेको छैन ।