श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समस्या तथा गुनासो यो कल सेन्टरले संकलन गर्नेछ । मन्त्रालयमा स्थापित कल सेन्टरको सोमबार मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरे ।
कल सेन्टर सुरुमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीको आवश्यकता अनुसार चौबीसैघण्टा सञ्चालन गर्ने तयारी गरिएकाे छ ।
मन्त्रालयकाअनुसार बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका लागि आग्रह गर्न सकिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिनेछ ।
कल सेन्टरमा ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता अनलाइन नेटवर्कबाट सम्पर्क गर्न सकिनेछ ।
कलसेन्टरमा फोन गरेर कुनै जानकारी लिन चाहेका तत्काल जानकारी लिन सकिने र गुनासो र सुझाव भएमा पनि सम्बन्धित निकायलाई तत्काल त्यसको सम्बोधन गर्नका लागि उत्तरदायी बनाउन कल सेन्टरले सहयोग गर्नेछ ।