कीवर्डहरू -

नेपालको पहिलो भू उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने

नेपालको पहिलो भू उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं। नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भूउपग्रह नेपाल स्याट वान को अन्तरिक्ष प्रक्षेपणको भिडियो नासाले आफ्नो वेब पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले  यो भू-उपग्रह निर्माण गरेको हो।

वैशाख ४ गते प्रक्षेपण हुने भू-उपग्रहको निर्माण नेपाल बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले गरेका थिए।

क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण भएको हो। अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ।

नेपालसंगै श्रीलंका र जापानको पनि भू उपग्रह प्रक्षेपण हुदैछ। नेपालको यो भू-उपग्रह नेपालको आकासमा दैनिक ५ देखी १० मिनेटसम्म रहनेछ। भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ।

यो नानो स्याटलाइटले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ। भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।