कीवर्डहरू -

के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा

के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा

नेपालको आइसिटी क्षेत्रको प्रतिष्ठित सम्मान हो, आइसिटी अवार्ड । ४ वर्षदेखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको चर्चित विधाको रूपमा ‘स्टार्टअप आइसिटी अवार्ड’ रहेको छ ।

यो अवार्ड विधामा कम्तीमा ३ वर्षदेखि सञ्चालनमा रहेका त्यस्ता आइटी कम्पनी सहभागी हुन सक्छन्, जसले नवीनतम वस्तु वा सेवा उत्पादन एवं वितरण गरेका छन् । हामी यो विधाबाट अवार्ड हात पारेका विगतका विजेताबारे संक्षिप्त चर्चा गर्दै छौं :

सस्तो डिल
नेपालको लिडिङ ई–कमर्श कम्पनीको रूपमा सस्तो डिल डटकम स्थापित भइसकेको छ । ४ वर्षअघि पहिलो स्टार्टअप आइसिटी अवार्ड पाउँदा सस्तो डिल अनलाइन कमर्शको प्लाटफर्म शुरुआती चरणमै थियो । अन्य अनलाइन शपिङ स्टोर लाखौंको लगानीमा सञ्चालन हुँदा सस्तो डिल भने थोरै पूँजी, तर धेरै मेहनत र सफल बजार रणनीतिले अघि बढ्यो । सस्तो डिल वास्तवमा एउटा अनलाइनको मार्केट प्लेसको रूपमा चिनिएको छ जहाँ सयौं आइटम राखिएका छन् । बजारमा ब्रान्डेड सामान के के आए, कुन राम्रा, कति मूल्यका लगायत जानकारी अनलाइनबाटै थाहा पाउन सकिनेछ । मन पर्ने टेक ग्याजेट्सदेखि फेन्सी, घर र अफिसका सामान मगाउन सकिनेछ ।

त्यो पनि प्रडक्टको भरपूर अध्ययन गरेर मात्रै । सस्तो डिलले कम्पनीका प्रडक्टलाई फरकफरक क्याटेगरीमा राखी यसका विशेषता र मूल्य वेबसाइटमा राखिदिएको छ । यति मात्रै होइन, सस्तो डिलले उत्कृष्ट टिम बनाएको छ । सस्तो डिल हालै मात्र आफ्ना कर्मचारीलाई कम्पनीको स्टक दिने पहिलो कम्पनी बनेको छ । कम्पनीले ‘इम्प्लोई स्टक ओनरसिप प्लान’ ल्याएको छ, जसमा पछिल्लो ३ वर्षयता काम गरिरहेका कर्मचारीहरू कम्पनीमा लगानी गर्न सक्छन् । सस्तो डिलले विशेषगरी अनलाइन सपिङको ट्रेन्ड बदल्न भूमिका खेलिरहेको छ ।

कुल ल्याब्स
आइसिटी अवार्डको पहिलो संस्करणमा स्टार्टअप अवार्ड हात पारेको कुल ल्याब्स (कुल टेक्नो ल्याब एन्ड रिसर्च सेन्टर प्रालि) अहिलेको ई–शिक्षा प्रणालीमा सुनिने नाम हो । ५ वर्षदेखि नेपालमा पढाइ हुने विषयहरूको डिजिटल पाठ्यसामग्रीहरू तयार पार्दै आएको छ कुल ल्याब्सले । यसरी तयार हुने सामग्रीहरूको सम्पूर्ण कपीराइट यसै कम्पनीको हुनेगरी देशभरिका करीब ५०० शिक्षक र अब्बल विद्यार्थीसँग सहकार्य गरी ३ तहको चेकजाँचपछि www.klluabs.com मार्फत सित्तैमा उपलब्ध गराउँदै आएको छ । अब विद्यालय र विद्यार्थीले कुल ल्याब्स प्रयोग गर्न सामान्य दैनिकी जस्तै भइसकेको छ ।

सुरुवाती चरणमा एक महिनामा मात्र ५००० विद्यार्थी तथा शिक्षकहरूले प्रयोग गर्ने गरेको कुलल्याब्सको वेबसाइट अहिले महिनामा करिब ६ लाखले प्रयोग गर्ने गरेका छन् ।

सुरूका दिनहरूमा कन्टेन्ट बनाउन व्यापक खर्च भएको भए पनि अहिले प्रयोगकर्ता निकै नै बढेकाले विज्ञापनमार्फत सस्टेन हुँदै आइरहेको छ कम्पनी । कम्पनीले इन्टरनेटविना पनि प्रयोग गर्न मिल्नेगरी कक्षा ८ देखि १२ सम्मको २१ ओटा भिन्दाभिन्दै विषयको पाठ्यसामग्री समेटिएको एप्लिकेसन रिलिज गर्ने तयारी गर्दै छ । सँगसँगै कम्पनीले एनिमेटेड भिडियो कन्टेन्टमा पनि काम गरिरहेको छ ।

स्मार्ट समाज (नेप फ्लाइट्स)
प्रविधिबाटै परिवर्तन सम्भव छ भन्ने दृढ विश्वास बोकेका ५ युवाले स्मार्ट समाज नामक स्टार्टअप सञ्चालनमा ल्याएका थिए । परिवर्तनका लागि युवा अभिभारा महवपूर्ण ठान्ने यी जोशिला युवाले नेपालमा पहिलोपटक अनलाइन फ्लाइट बुकिङ साइट www.nepflights.com बनाए । सन् २०१४ मा आएको नेपफ्लाइट्सले नेपालमा हवाई उडानको टिकट अनलाइनबाटै काट्न सकिन्छ भन्ने प्रमाणित गरिदियो ।

अनलाइन एपिआई बेस्ड डोमेस्टिक फ्लाइट बुकिङ प्लाटफर्मको रूपमा नेफ्लाइट्सलाई चिनिन्छ । नेपालमा एयरलाइन्ससँग सीधा सम्बन्ध राखी काम गर्ने नेपफ्लाइट पहिलो साइट हो । नेपफ्लाइटले एयरलाइन्स वा काउन्टरमा गएर टिकट काट्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो । अहिले नेपफ्लाइट जस्तै एयरलाइन्सको अनलाइन टिकेटिङमा अरू सिस्टममा पनि थपिएका छन् ।

एल्लो नेपाल
एल्लो नेपाल प्रालिले पनि २०१६ को स्टार्टअप आइसिटी अवार्ड हात पारेको थियो । यो कम्पनीले ल्याएको एल्लो एपमार्फत रेस्टुरेन्टको खाना, यसको मूल्य र रहेको स्थानसहित विभिन्न जानकारी पाइन्छ । ४ हजारभन्दा बढी रेस्टुरेन्टहरूको यो सिस्टमबाट सर्च गर्न सकिन्छ । एल्लो नेपालले गुगल बिजनेश स्टोरिज (जिबिजी) प्रतिस्पर्धाको फाइनल पनि जितेको थियो ।

एल्लो नेपाल डट को र एल्लो नेपाल एपमार्फत उपत्यकामा रहेका विभिन्न रेस्टुरेन्टहरूको  खानाको मेनु हेर्न, आफू बसेको ठाउँ नजिकको रेष्टुरेन्ट खोज्न, कहाँ कुन अफर लागेको छ वा कुन रेस्टुरेन्टको परिकार स्वादिलो छ भन्ने पत्ता लगाउन सकिन्छ । यो टिमले कारपुल काठमाडौंको एप पनि बनाएको थियो भने फउसम एप्समार्पत मिम जेनेरेट गर्ने इन्स्टामिम सञ्चालन गरिरहेको छ ।

पाइला टेक्नोलोजिज
२०१७ मा स्टार्टअप आइसिटी अवार्ड पाएको पाइला टेक्नोलोजी रोबोटिक्स र इन्डस्ट्रियल अटोमेसनमा अहिले चर्चामा रहेका कम्पनी हो । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेको यो कम्पनीले ल्याएको परी नामको रोबट धेरैले मन पराए । अहिले परी रोबोटको दोस्रो संस्करण आइसकेको छ । यसले एआईबाट सञ्चालन हुने च्याटबोट पनि ल्यायो । यसअघि अटोमेटिक धारा, भिएफडी (इन्डस्ट्रियल अटोमेसन प्रडक्ट) पनि बजारमा ल्याइसकेको छ । पछिल्लो समय ल्याएको जिन्जर नामको वेटर नामको रोबट पनि चर्चामा रहेको छ भने रूम सफा गर्ने Ferry रोबट पनि ल्याएको छ ।

खुशीको कुरा के भने पाइला टेक्नोलोजीसँग विभिन्न सरकारी र व्यावसायिक कम्पनीहरूले आफ्ना सेवा रोबटबाट कसरी दिन सकिन्छ भनेर छलफल गर्न थालेका छन् । पाइलाले पनि बजारको आवश्यकता अनुसार रोबट र एआई बेस्ड प्रडक्टहरू बनाउन खोजिरहेको छ ।

जेफ्टवेयर सोलुसन्स
विराटनगरबाट सहभागी जेफ्टवेयर सोलुसन्सले आइसिटी स्टार्टअप अवार्ड २०१७ हात पार्न सफल भएको थियो । यो सफ्टवेयर डेभलपमेन्ट कम्पनी हो । NOTICE PANDA, APPSEWA, NAMYLO जस्ता प्रडक्टहरू बजारमा ल्याएको जेफ्टवेयरले गतवर्ष स्कुलको म्यानेजमेन्ट गर्ने सफ्टवेयर ल्यायो । यो क्लाउड बेस्ड स्कुल एन्ड कलेज म्यानेजमेन्ट सिस्टम हो । फ्ल्यागसिप प्रडक्टको रूपमा आएको जेफेड Zefed अहिले देशका पूर्वी क्षेत्रका धेरै स्कुलमा प्रयोगमा आएको छ । यो सफ्टवेयरमार्फत कुनै पनि विद्यालयको प्रशासन सञ्चालनका लागि आवश्यक पर्ने सबै कार्य गर्न सकिन्छ ।

यसले विद्यालय, अभिभावक, विद्यार्थी र शिक्षकबीचको खाल्डोलाई पुर्ने कार्य गर्दछ । यसको मतलव विद्यार्थीको हाजिरी, शुल्क, परीक्षाको रिपोर्ट, शिक्षक कर्मचारीको तलब लगायतको विवरण सबैको व्यवस्थापन गर्न सकिन्छ । साथै यो कम्पनीले रेस्टुरेन्ट म्यानेजमेन्ट सिस्टम र क्विज म्यानेजमेन्ट सिस्टम पनि ल्याएको छ ।

बसोवास नेपाल प्रालि
बसोवास रियलस्टेट स्टार्टअप हो । यसले सन् २०१७ मा आइसिटी स्टार्टअप अवार्ड जित्न सफल भएको थियो । प्रविधिको प्रयोग गर्दै बसोवास नेपाल प्रालिले आफ्नो वेबसाइट बसोवास डटकमबाट घर, फ्ल्याट, अपार्टमेन्ट, जग्गा आदि किन्न, बेच्न र भाडामा लिन/दिन मानिसहरूलाई सेवा प्रदान गर्दै आएको छ । यो वेबसाइटमा विक्रीमा रहेका, भाडामा रहेका र प्रिमियम प्रोपर्टीहरू (घर, जग्गा आदि) हेर्न र खरीद गर्न सकिन्छ ।

साथमा आफूले बेच्न चाहेको प्रोपर्टी पनि निःशुल्क बसोबास डटकममा पोस्ट गर्न सकिन्छ । यति मात्रै होइन, घर कर्जाको लिन चाहनेले पनि यो वेबसाइटबाट सहयोग लिन सक्छन् । अनलाइनबाटै रियलस्टेटको काम गरिरहेको बसोवासले यसअघि हुने ठगी, दलालीलाई अन्त्य गरिदिएको छ भने सेवाग्राहीलाई चाँडोभन्दा चाँडो सेवा उपलब्ध गराएको छ ।

\"\"

पिपुल्स डेभलपमेन्ट ल्याब
नेटगियर आइसिटी अवार्ड २०१८ मा स्टार्टअप आइसिटी अवार्ड पिपुल डेभलपमेन्ट ल्याब (पिडिएल)ले पाएको थियो । यो कम्पनीले सूचना प्रविधिको प्रयोगबाट नेपालमै पहिलोपटक साइकोमेट्रिक टेस्टहरूको विकास गरी सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ । यो स्टार्टअपले अनलाइनबाटै मानिसहरूलाई योजनाबद्ध रूपमा करीअर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरूको नेतृत्व विकास गर्ने काम गरेको छ ।

अहिले विकसित देशहरूमा व्यक्तिको रुचि, क्षमता र मनोविज्ञानलाई विशेष ध्यान दिँदै करियर रोज्ने, जागिर वा व्यवसाय गर्ने प्रवृत्ति बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै नेपालमा पनि पिपुल डेभलपमेन्ट ल्याबले करियर डेभलपमेन्ट र लर्निङ एक्सपिरियन्समा नयाँ शैली अपनाएको छ । नेपाली मूल्य मान्यतालाई ध्यान दिँदै इमेजबेस्ड प्रश्नहरू गरेर टेस्ट गरिन्छ । टेस्ट गर्नेलाई प्रश्न उत्तर गरे जस्तो नभई गेम खेले जस्तो हुन्छ । यो प्रक्रियामार्फत अन्कन्सियस माइन्डलाई ग्य्राब गर्ने प्रयास गरिन्छ ।

विशेषगरी पिडिएलले अहिले विद्यार्थी वर्ग र जागिर गर्न चाहने मानिसहरूलाई लाभान्वित तुल्याएको छ । यसका लागि यो कम्पनीले करियर प्रोइफालर नामक प्रडक्ट विकास गरेको छ, जसले विद्यार्थीहरूलाई उचित करियर छनोट गर्न सहयोग पु¥याउँछ । त्यस्तै नेतृत्व विकासका लागि कम्पनीले म्यानेजमेन्ट लिडरसिप पर्सनालिटी प्रोफाइलर विकास गरेको छ । नेपालमा पहिलो पटक पिडिएलले विभिन्न डेटाको भरपुर प्रयोग गर्दै मानिसको मनोविज्ञानअनुसार करियर गाइड गर्ने र नेतृत्वको विकासको प्रक्रियालाई अझै मजबुत गराउन काम थालेको छ ।

सारथी
नेटगियर आइसिटी अवार्ड २०१८ मा आइसिटी स्टार्टअप अवार्ड र आइसिटी प्रडक्ट अवार्ड गरी दुवै विधामा उत्कृष्ट ५ मा पर्न सफल अनलाइन ट्याक्सी सेवा सारथी प्रालिले जुरी स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको थियो ।

सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र अनलाइन ट्याक्सी सेवा थालेको सारथीले प्रविधिको प्रयोग गरी ट्याक्सी यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । सारथीले आवत जावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गरिरहेको छ । ट्याक्सी चालकलाई मर्यादित र अनुशासित बनाउने र साथसाथमा ट्याक्सी धनीु, चालक र यात्रु तीनै जना खुसी हुन सक्ने प्लाटफर्म सारथी हो ।

हालै कुमारी बैंकसँग सहकार्य गरी सारथी बजारमा आउने तयारीमा छ । यसअन्तर्गत सारथीका ६५० ट्याक्सी टपहरूमा कुमारी बैंकको लोगाो अंकित स्टिकर तथा विविध बचत खाताहरूको विज्ञापन स्टिकरमार्फत ब्रान्डिङ गरिनेछ । यसैगरी, सारथीका ट्याक्सी चालकहरूको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरूले भौतिक नगदरहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।