काठमाडौं । अमेरिकी चिप निर्माता क्वालकम र चिप प्रविधि प्रदायक आर्म होल्डिङ्सबीचको कानुनी विवादमा शुक्रबार जुरीले फैसला सुनाउने भएको छ । विवादको मुख्य विषय आर्मले लाइसेन्स सम्झौता उल्लंघन गरेको थियो वा क्वालकमको मेटासँगको व्यावसायिक सम्बन्धमा असर पार्ने प्रयास गरेको थियो भन्ने रहेको छ ।
रोयटर्सका अनुसार पाँच दिनसम्म चलेको सुनुवाइ दुई कम्पनीबीचको पछिल्लो दुई वर्षभित्रको दोस्रो कानुनी लडाइँ हो । सन् २०१६ मा सफ्टबैंक ग्रुपले आर्मको नियन्त्रण लिएपछि दुवै कम्पनीबीचको व्यावसायिक सम्बन्धमा तनाव बढ्दै आएको छ । विशेष गरी, चिप निर्माणका लागि आवश्यक प्रविधि लाइसेन्स दिने व्यवसायमा केन्द्रित आर्म आफ्नै चिप बिक्री गर्ने रणनीतितर्फ अघि बढेपछि विवाद थप चर्किएको हो ।
क्वालकमले आर्मको कम्प्युटिङ आर्किटेक्चर प्रयोग गर्न सन् २०३३ सम्मका लागि लाइसेन्स पाएको छ । तर, भविष्यमा आर्मको आर्किटेक्चरका नयाँ संस्करण प्रयोग गर्न दुवै कम्पनीबीच नयाँ सर्तमा सहमति हुनुपर्ने हो वा होइन भन्ने विषय विवादको महत्त्वपूर्ण पक्ष बनेको छ ।
क्वालकमले आफ्ना चिप डिजाइनका लागि आवश्यक सफ्टवेयर सुधार र उपकरण उपलब्ध नगराएर आर्मले लाइसेन्स सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । त्यस्तै, प्रोसेसर डिजाइन प्रयोग गरेबापत तिर्नुपर्ने रोयल्टी सबैभन्दा कम मूल्यको चिपको मूल्यको १० प्रतिशतको सीमाभित्र रहने सुनिश्चित गर्ने सम्झौता पनि आर्मले पालना नगरेको क्वालकमको दाबी छ ।
यसका अतिरिक्त, सन् २०२४ मा क्वालकमले महत्त्वपूर्ण लाइसेन्स सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आर्मले पठाएको पत्र ब्लुमबर्गमा चुहाएर मेटासँगको आफ्नो व्यावसायिक कारोबारमा बाधा पुर्याउन खोजेको आरोप क्वालकमले लगाएको छ ।
तर, आर्मले क्वालकमलाई यस विवादबाट कुनै वास्तविक क्षति नभएको जिकिर गरेको छ । यस साताको सुनुवाइमा आर्मका वकिलहरूले क्वालकमले लाइसेन्सका सर्तबारे चलिरहेको विवादमा आफ्नो पक्ष बलियो बनाउन मुद्दा दायर गरेको आरोपसमेत लगाएका छन् ।
यसैबीच, आर्मले लाइसेन्सका सर्तबारे क्वालकमसँग इमानदारीपूर्वक वार्ता गरिरहेको छ वा छैन भन्ने विषयमा न्यायाधीशसमक्ष छुट्टै सुनुवाइ भएको छ । उक्त विषयमा निर्णय शुक्रबारको जुरी फैसलापछि आउने सम्भावना छ ।
अमेरिकाको डेलावेयरस्थित संघीय अदालतमा चलिरहेको यो मुद्दामा सन् २०२४ को सुनुवाइका कैयौँ विषय पुन: उठेका छन् । त्यतिबेला आर्मले क्वालकमले लाइसेन्स सम्झौता उल्लंघन गरेको प्रमाणित गर्न सकेको थिएन ।
दुवै सुनुवाइमा आर्मका प्रमुख कार्यकारी रेने हास र क्वालकमका प्रमुख कार्यकारी क्रिस्टियानो आमोनले बयान दिएका छन् । दुवै मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला अदालतकी न्यायाधीश मेरीलेन नोरेइकाले गरेकी हुन् ।
क्वालकमकी वकिल करेन डनले सोमबारको प्रारम्भिक बहसमा यो मुद्दा कम्पनीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी थिइन् । उनका अनुसार क्वालकमको चिप व्यवसाय आर्मको प्रविधिमा निर्भर छ, त्यसैले आर्मले सम्झौता र आफ्ना प्रतिबद्धता पालना गर्नुपर्छ ।
क्वालकमले लाइसेन्स सम्झौता उल्लंघन भएको अवस्थामा पाँच वर्षसम्म रोयल्टी भुक्तानी रोक्न सक्ने व्यवस्था लागू गर्न सुनुवाइअघि नै न्यायाधीश नोरेइकासँग माग गरेको थियो । तर, न्यायाधीशले यस विषयमा निर्णय दिएकी छैनन् । आर्मले भने रोयल्टी भुक्तानी रोक्न पाउने यस्तो व्यवस्था लागू गर्न नसकिने तर्क गरेको छ ।
आर्मका वकिल ग्रेग लोकेसियोले सोमबार जुरीसमक्ष क्वालकमलाई कुनै क्षति नभएको दाबी गरेका थिए । अब जुरीको फैसलाले दुवै कम्पनीबीचको लाइसेन्स विवाद र उनीहरूको आगामी व्यावसायिक सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्न सक्नेछ ।
आईसीटी समाचार