काठमाडौं । इन्स्टाग्रामले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित भिडियो असिस्टेन्ट टुल थप्ने घोषणा गरेको छ । कन्टेन्ट क्रिएटरलाई भिडियो निर्माण तथा रणनीति बनाउन सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
एडिट्सका प्रमुख ब्रेट वेस्टरवेल्टका अनुसार एआई असिस्टेन्टले प्रयोगकर्ताको इन्स्टाग्राम अकाउन्टसँग सम्बन्धित विभिन्न मेट्रिक्सको विश्लेषण गरी व्यक्तिगत सुझाव दिनेछ । यसले फलोअर, भ्युज, भिडियो रिटेन्सन, लाइक्स र शेयरसँगै पोस्टमा आएका कमेन्ट, पछिल्ला ट्रेन्ड तथा दर्शकको रुचिलाई समेत विश्लेषण गर्नेछ ।
विश्लेषणका आधारमा असिस्टेन्टले भिडियोको हुक, स्क्रिप्ट, क्याप्सन तथा सम्बन्धित विधाअनुसार उपयुक्त अडियो छनोट गर्न व्यावहारिक सुझाव दिनेछ । यसले क्रिएटरको विगतको प्रदर्शन र कन्टेन्टको प्याटर्न समेत अध्ययन गर्ने बताइएको छ ।
वेस्टरवेल्टका अनुसार एआई असिस्टेन्टले तथ्यांक खोज्ने र विश्लेषण गर्ने काम गरेपनि अन्तिम रचनात्मक निर्णय भने क्रिएटरकै हातमा रहनेछ । मेटाले गत जुनमा आयोजित क्रिएटरसम्बन्धी कार्यक्रममा यो एआई असिस्टेन्टको प्रारम्भिक झलक सार्वजनिक गरेको थियो ।
कम्पनीले एडिट्सको डेस्कटप संस्करणमा समेत काम भइरहेको जनाएको छ । हाल यो सुविधा अमेरिकाका एडिट्स प्रयोगकर्ताका लागि दैनिक निश्चित सीमासहित नि:शुल्क उपलब्ध छ । ‘मेटा वन’का ग्राहकले भने थप प्रयोग सीमा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
भिडियो निर्माणमा एआई प्रयोग गर्ने प्रतिस्पर्धामा युट्युब पनि अघि बढिरहेको छ । युट्युबले पनि आगामी वर्षको सुरुवातमा उपलब्ध हुने गरी कुराकानीमा आधारित एआई भिडियो एडिटिङ टुल विकास गरिरहेको जनाएको छ ।
इन्स्टाग्रामको एडिट्सले भने भिडियो सम्पादनभन्दा पनि प्रयोगकर्ताको तथ्यांक र कन्टेन्ट प्रदर्शनको विश्लेषणमार्फत रणनीतिक सुझाव दिनमा एआईलाई केन्द्रित गरेको छ ।
आईसीटी समाचार