काठमाडौं । माइक्रोसफ्ट एजमा रहेको कोपाइलट मोड हटाउँदै माइक्रोसफ्टले एआई सुविधाहरूलाई अब सिधै ब्राउजरमै समावेश गर्न थालेको छ । नयाँ अपडेटसँगै एज ब्राउजर मोबाइल र डेस्कटप दुवै प्लेटफर्ममा थप शक्तिशाली र प्रयोगमैत्री बनेको कम्पनीले जनाएको छ ।
नयाँ अपडेटपछि कोपाइलटले प्रयोगकर्ताले खोलेका विभिन्न ट्याबबाट जानकारी लिएर तुलना, सारांश तथा विश्लेषण गर्न सक्ने क्षमता पाएको छ । उदाहरणका लागि, प्रयोगकर्ताले एकै पटक विभिन्न स्मार्ट टिभीका विवरण तुलना गर्न सक्नेछन् ।
यसैगरी, Journey फिचर अब मोबाइल संस्करणमा पनि नि:शुल्क उपलब्ध भएको छ । यो सुविधाले प्रयोगकर्तालाई पहिले अधुरा रहेका काम, रिसर्च वा ट्राभल योजना पुन: सुरु गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
मोबाइल प्रयोगकर्ताका लागि Vision र Voice सुविधा पनि थपिएको छ । यी फिचरमार्फत प्रयोगकर्ताले स्क्रिन सेयर गर्दै बोलचालकै माध्यमबाट कोपाइलटसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
माइक्रोसफ्टले एजको नयाँ डिजाइन गरिएको ट्याब पेज पनि सार्वजनिक गरेको छ, जसले ब्राउजिङ अनुभवलाई थप सहज र पहुँचयोग्य बनाउने बताइएको छ । साथै, कोपाइलटले प्रयोगकर्ताको browsing history को आधारमा पुराना रिसर्च, पढिएका थ्रेड वा पहिले हेरेका सामाग्री पुन: फेला पार्न सहयोग गर्नेछ ।
नयाँ अपडेटमा long-term memory सुविधा पनि थपिएको छ, जसले पुराना च्याट तथा संवाद सम्झन सक्ने क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । विद्यार्थीहरूलाई लक्षित गर्दै “Study and Learn” मोड ल्याइएको छ, जसले अध्ययन सामाग्रीलाई क्विज तथा निर्देशित अध्ययन सत्र (guided sessions) मा रूपान्तरण गर्न सहयोग गर्छ ।
त्यस्तै, “Writing Assistant” ले सामाग्री लेख्न, पुन: सम्पादन गर्न तथा लेखनको शैली (tone) परिवर्तन गर्न मद्दत गर्नेछ । यसका अतिरिक्त, खुलेका ट्याबहरूलाई पोडकास्टमा रूपान्तरण गर्ने सुविधा पनि समावेश गरिएको छ । हाल यो सुविधा अंग्रेजी भाषामा मात्र उपलब्ध रहेको बताइएको छ ।
माइक्रोसफ्टका अनुसार प्रयोगकर्ताले यी सबै एआई फिचरलाई आफ्नो आवश्यकता अनुसार सेटिङमार्फत अन वा अफ गर्न सक्नेछन् ।
आईसीटी समाचार