कीवर्डहरू -

सिङ्गापुरमा ८० हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई एआई तालिम दिइने

सिङ्गापुरमा ८० हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई एआई तालिम दिइने

काठमाडौं । सिङ्गापुरले वित्तीय क्षेत्रमा कार्यरत ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीप प्रदान गर्ने योजना अघि सारेको छ । सन् २०२८ सम्ममा यस्तो तालिम पूरा गर्ने लक्ष्य राखिएको हो ।

सिङ्गापुरका उपप्रधानमन्त्री तथा व्यापार तथा उद्योगमन्त्री गान किम योङले बिहीबार आयोजित ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा वित्तीय क्षेत्रका २३ वटा संस्थाले एआई सीप विकाससम्बन्धी प्रतिबद्धता जनाएको जानकारी दिए ।

उनका अनुसार बैङ्किङ, बीमा तथा सम्पत्ति व्यवस्थापन क्षेत्रमा कार्यरत ती संस्थाले ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउनेछन् ।

आईबीएफबाट मान्यताप्राप्त तालिम कार्यक्रममार्फत सिङ्गापुरमा कार्यरत आफ्ना सम्पूर्ण कर्मचारीलाई एआईसम्बन्धी सीप सिकाउने प्रतिबद्धता वित्तीय संस्थाहरूले गरेका छन् । हालसम्म आधाभन्दा बढी कर्मचारीले यस्तो तालिम प्राप्त गरिसकेको गानले बताए ।

नयाँ ‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता तथा साझेदार संस्थाबीच सहकार्य गराउँदै एआईका कारण कामको प्रकृतिमा भइरहेको परिवर्तनको अध्ययन गर्नेछ । यसले कर्मचारीको सीप, तालिम र कार्यप्रणालीमा आवश्यक सुधार पहिचान गरी नयाँ उपायको परीक्षणसमेत गर्नेछ ।

परीक्षणबाट प्राप्त अनुभव र सिकाइलाई वित्तीय क्षेत्रका अन्य संस्थासँग पनि साझा गरिनेछ । गानका अनुसार एआईको प्रयोगले वित्तीय क्षेत्रका विभिन्न काममा परिवर्तन ल्याउन थालिसकेको छ ।

ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण तथा सफ्टवेयर विकासजस्ता क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको उनले बताए । एआईलाई रोजगारी विस्थापनको माध्यमका रूपमा मात्र नभई कर्मचारीको क्षमता र उत्पादकत्व बढाउने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा सिङ्गापुरले जोड दिएको छ ।

‘एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहन्छौं,’ गानले भने । यसका लागि वित्तीय संस्थाहरूको प्रतिबद्धतासँगै सरकार र श्रमिक सङ्गठनबीचको सहकार्य पनि महत्वपूर्ण हुने उनको भनाइ थियो ।

एआईको तीव्र विकाससँगै रोजगारीको स्वरूप परिवर्तन भइरहेका बेला कर्मचारीलाई आवश्यक नयाँ सीप प्रदान गरेर भविष्यको कार्य क्षेत्रका लागि तयार पार्ने प्रयासका रूपमा यो पहललाई अघि बढाइएको हो ।