काठमाडौं । उद्यमशीलतामा रुचि राख्ने व्यक्तिहरूका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नि:शुल्क तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई लक्षित गर्दै प्रतिष्ठानले एक हप्ते उद्यमशीलता विकास तालिम दुई चरणमा सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठानका अनुसार पहिलो चरणको तालिम २५ वैशाखदेखि १ जेठसम्म र दोस्रो चरणको तालिम ३ जेठदेखि १० जेठसम्म सञ्चालन हुनेछ । तालिममार्फत सहभागीलाई आफ्नो क्षमता पहिचान गर्ने, उपयुक्त व्यवसाय छनोट गर्ने र व्यवसायिक योजना तयार गर्ने सीप प्रदान गरिनेछ, जसले उनीहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।
यो तालिम पूर्ण रूपमा नि:शुल्क रहनेछ । सहभागी हुनका लागि कम्तीमा एसएलसी/एसईई उत्तीर्ण गरेको, १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । इच्छुक व्यक्तिहरूले वैशाख १४ गते भित्र आवेदन दिनुपर्नेछ ।
आवेदनपछि योग्य उम्मेदवारहरूलाई छनोट गरी अन्तर्वार्ता लिइनेछ र अन्तिम रूपमा २० देखि २५ जनासम्मलाई तालिममा सहभागी गराइने प्रतिष्ठानले जनाएको छ ।
इच्छुक व्यक्तिहरूले अनलाइन माध्यमबाट वा प्रतिष्ठानको इमेल [email protected] मार्फत आवेदन दिन सक्ने छन् । यस कार्यक्रमले नयाँ उद्यमी उत्पादन गर्दै आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
आईसीटी समाचार