कीवर्डहरू -

मोबाइलबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी सुरक्षा उपाय अनिवार्य अपनाउनुहोस्

मोबाइलबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी सुरक्षा उपाय अनिवार्य अपनाउनुहोस्

काठमाडौं । मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग बढेसँगै अनलाइन कारोबारमा साइबर ठगी र अन्य सुरक्षा जोखिम पनि बढ्न सक्छन् । त्यसैले अनलाइन बैंकिङ प्रयोग गर्दा आफ्नो खाता र व्यक्तिगत विवरण सुरक्षित राख्न विशेष सावधानी अपनाउनुपर्छ ।

अनलाइन बैंकिङ प्रयोग गर्नुअघि सम्बन्धित बैंकका नियम तथा प्रक्रियाबारे जानकारी लिनुहोस् । मोबाइल बैंकिङका लागि बैंकको आधिकारिक मोबाइल एप पहिचान गरी आधिकारिक स्रोतबाट मात्र डाउनलोड गर्नुहोस् । इन्टरनेट बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक वेबसाइटमा मात्र प्रयोग गर्नुहोस् ।

बैंकिङ कारोबार गर्ने मोबाइल, कम्प्युटर वा ल्यापटपमा पासवर्ड, प्याटर्न, पिन वा बायोमेट्रिक लक अनिवार्य राख्नुहोस् । सम्भव भएसम्म मल्टी-फ्याक्टर अथेन्टिकेसन तथा टू-फ्याक्टर अथेन्टिकेसन सक्रिय गर्नुहोस् । ओटीपी, मोबाइल नम्बर वा फिङ्गरप्रिन्टजस्ता अतिरिक्त सुरक्षा प्रणालीको प्रयोगले खाताको सुरक्षा थप मजबुत बनाउन सक्छ ।

इन्टरनेट बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक यूआरएल आफैं टाइप गरेर वेबसाइटमा प्रवेश गर्नुहोस् । इमेल, एसएमएस वा सामाजिक सञ्जालमा आएका शंकास्पद लिंक तथा अन्य वेबसाइटमा रहेका हाइपरलिंक क्लिक गरेर बैंकिङ सेवामा प्रवेश नगर्नुहोस् ।

बैंक खातामा हुने हरेक कारोबारको जानकारी प्राप्त गर्न एसएमएस वा इमेल नोटिफिकेसन सेवा सक्रिय राख्नुहोस् । बैंक स्टेटमेन्ट नियमित रूपमा जाँच गर्नुका साथै आफ्नो खातामा भएका कारोबार बैंकको स्टेटमेन्टसँग मिलान गर्नुहोस् ।

आफ्नो बैंक खाता विवरण, पासवर्ड, पिन, सीभीसी र ओटीपीजस्ता संवेदनशील जानकारी कसैलाई पनि नदिनुहोस् । बैंकका कर्मचारीले फोन, एसएमएस वा अन्य माध्यमबाट पासवर्ड, पिन, सीभीसी वा ओटीपी माग्दैनन् । त्यसैले बैंकका कर्मचारीको नाम लिएर आउने फेक कल, सन्देश वा अन्य स्क्यामबाट सावधान रहनुहोस् ।

अनलाइन बैंकिङको लगइन क्रेडेन्सियल ब्राउजरमा सेभ नगर्नुहोस् । कारोबार पूरा भएपछि अनिवार्य रूपमा लगआउट वा साइन आउट गर्नुहोस् । सार्वजनिक कम्प्युटर, साइबर क्याफे वा सार्वजनिक वाइफाइ प्रयोग गरेर अनलाइन बैंकिङ कारोबार नगर्नुहोस् ।

बैंकिङका लागि प्रयोग हुने मोबाइल, कम्प्युटर, ल्यापटप तथा अन्य उपकरणमा नियमित रूपमा सफ्टवेयर र मोबाइल एप अपडेट गर्नुहोस् । कम्प्युटर, मोबाइल तथा ल्यापटपमा विश्वसनीय र मौलिक एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस् । उपकरणमा अनधिकृत पहुँच रोक्न पासवर्ड वा अन्य सुरक्षा प्रणाली सक्रिय राख्नुहोस् ।

अनलाइन बैंकिङ सुरक्षित रूपमा प्रयोग गर्ने तरिकाबारे आफू पनि जानकारी लिनुहोस् र परिवारका सदस्यलाई समेत सचेत गराउनुहोस् । डिजिटल बैंकिङको प्रयोग गर्दा सामान्य सुरक्षा सावधानी अपनाउन सके साइबर ठगी तथा अनधिकृत कारोबारको जोखिम कम गर्न सकिन्छ ।