डिजिटल घडी बनाउने लोकप्रिय कम्पनी क्यासियोले हालै आफ्नो पहिलो रिङ आकारको घडी प्रस्तुत गरेको छ ।
विशेष कुरा यो हो कि यो रिङमा क्लासिक क्यासियो डिजाइनसहित सानो स्क्रिन छ, जसले समय देखाउँछ ।
एक इन्चभन्दा पनि कम साइज रहेको यो नयाँ रिङ वाचमा सेभेन–सेग्मेन्ट एलसीडी स्क्रिन छ, जसले घण्टा, मिनेट र सेकेन्ड प्रदर्शन गर्न सक्छ ।
मुख्य विशेषताहरूः
– तीन फिजिकल बटन : यी बटनहरूले तपाईंलाई विभिन्न टाइम जोनमा समय वा मिति हेर्न र स्टपवाच फिचरको पहुँच दिन्छन् ।
– स्क्रिनमा लाइटः यो स्क्रिनमा लाइट सोर्स छ, जसको प्रयोग अँध्यारोमा समय हेर्नका लागि गर्न सकिन्छ ।
– स्टेनलेस स्टील डिजाईनः रिङ वाचमा स्टेनलेस स्टीलबाट बनेको बेजेल र सानो केस छ ।
– अलार्म सुविधाः यस रिङ वाचमा स्पीकर छैन, तर अलार्म बज्दा स्क्रिन चम्किन्छ ।
ग्यालेक्सी रिङजस्ता अन्य उपकरणहरूका लागि यो राम्रो विकल्प देखिन सक्छ, तर यसमा स्लीप ट्र्याकिङ, हार्ट रेट मेजरमेन्ट, वा ब्लड अक्सिजन स्तर जाँचजस्ता कुनै फिटनेस ट्र्याकिङ फिचर छैन् ।
कम्पनीले आफ्नो वेबसाइटमा जानकारी दिएको अनुसार, क्यासियो वाचलाई फुल मेटल डिजाइनमा डिटेलमा पुनःनिर्माण गरिएको छ । यो वाच पानी प्रतिरोधि, रिप्लेसेबल ब्याट्री र साइज एडजस्टमेन्टको साथ आउने छ ।
सीआरडब्लू–००१–१ जेआर नाम दिइएको यो नयाँ रिङ वाच क्यासियोको ५०औं वार्षिकोत्सव मनाउनका लागि डिजाइन गरिएको हो । यो डिसेम्बर महिनामा जापानमा १९,८०० येनमा उपलब्ध हुनेछ ।