कीवर्डहरू -

ह्वाट्सएपमा आउँदै नयाँ ‘कन्ट्याक्ट्स’ ट्याब, अनलाइन स्थिति र जन्मदिन पनि देखिने

ह्वाट्सएपमा आउँदै नयाँ ‘कन्ट्याक्ट्स’ ट्याब, अनलाइन स्थिति र जन्मदिन पनि देखिने

काठमाडौं । ह्वाट्सएपले सम्पर्क व्यवस्थापनलाई सहज बनाउन नयाँ ‘कन्ट्याक्ट्स’ ट्याब विकास गरिरहेको छ । एन्ड्रोइडका लागि विकास भइरहेको यो सुविधामार्फत प्रयोगकर्ताले आफ्ना सबै सम्पर्क एउटै स्थानबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन् ।

नयाँ ‘कन्ट्याक्ट्स’ ट्याबमा सम्पर्क खोज्ने, को व्यक्ति अनलाइन छ भनेर हेर्ने, जन्मदिनको सम्झना पाउने तथा ह्वाट्सएपमा नरहेका नयाँ व्यक्तिलाई जोड्ने सुविधा समावेश हुन सक्नेछ ।

ह्वाट्सएपले अनलाइन रहेका सम्पर्कको प्रोफाइल फोटोमा हरियो डट देखाउने तयारी गरेको छ । त्यस्तै, अफलाइन रहेका सम्पर्कको पछिल्लो अनलाइन समय पनि देखिन सक्नेछ । यद्यपि, यी विवरण प्रयोगकर्ताको गोपनीयता सेटिङमा निर्भर हुनेछन् ।

कुनै सम्पर्कले आफ्नो अनलाइन स्थिति लुकाएको अवस्थामा उसको प्रोफाइलमा हरियो डट देखिने छैन । त्यसैगरी, ‘लास्ट सिन’ लुकाएका व्यक्तिको पछिल्लो गतिविधिसम्बन्धी जानकारी पनि देखाइने छैन ।

कन्ट्याक्ट्स ट्याबमा जन्मदिनसम्बन्धी सुविधा पनि समावेश हुने अपेक्षा गरिएको छ । जन्मदिनको दिन सम्बन्धित सम्पर्कको नामसँगै केकको चिन्ह देखिनेछ, जसले प्रयोगकर्तालाई जन्मदिन सम्झन सहयोग गर्नेछ ।

यसका साथै ट्याबमा मेटा एआई खोल्ने विकल्प तथा ह्वाट्सएप प्रयोग नगर्ने साथीलाई एपमा जोड्न ‘साथीलाई निमन्त्रणा’ गर्ने विकल्प समेत राखिन सक्नेछ ।

यो सुविधा हाल एन्ड्रोइडका लागि विकासकै चरणमा रहेको छ र बिटा परीक्षणका लागि समेत उपलब्ध भइसकेको छैन । ह्वाट्सएपले आगामी अद्यावधिकमार्फत यो सुविधा प्रयोगकर्तामाझ ल्याउन सक्ने अपेक्षा गरिएको छ ।