काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्लक ‘ए’को हल १ मा सम्पन्न करिब ६ घण्टे कार्यक्रममा सातवटा फाइनलिस्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धाले कलेजलाई राष्ट्रिय चरणमा प्रतिनिधित्व गर्ने टोली छनोट गरेको छ ।
कार्यक्रम क्याम्पस डाइरेक्टरको नेतृत्व तथा इभेन्ट म्यानेजमेन्ट टोलीको सक्रिय समन्वयमा आयोजना गरिएको थियो । हल्ट प्राइज यात्रामा अभिमुखीकरण सत्रदेखि विभिन्न १५ भन्दा बढी कार्यक्रम सञ्चालन गरिएका थिए, जसमा १२० भन्दा बढी विद्यार्थी प्रत्यक्ष सहभागी भएका थिए भने डिजिटल माध्यमबाट हजारौँसम्म पहुँच पुगेको आयोजकले जनाएको छ ।

ग्राण्ड फिनालेमा फाइनलिस्ट टोलीहरूले आफ्नो स्टार्टअप अवधारणा प्रस्तुत गरेका थिए । प्रत्येक टोलीले समस्या, समाधान, व्यवसायिक मोडेल तथा सामाजिक वा वातावरणीय प्रभावबारे चार मिनेट प्रस्तुति दिएको थियो भने थप चार मिनेट प्रश्न उत्तर सत्र सञ्चालन गरिएको थियो । निर्णायक मण्डलले टोलीहरूको कार्यान्वयन योजना, बजार सम्भावना, आम्दानी मोडेल तथा प्रतिस्पर्धात्मक पक्षबारे मूल्याङ्कन गरेका थिए ।
प्रतियोगिताको उपाधि ‘होराइजन फ्युरी’ टोलीले जित्दै राष्ट्रिय चरणका लागि छनोट भएको छ । यस्तै ‘DeBig4’ टोली दोस्रो रनरअप र ‘AR^2’ टोली पहिलो रनरअप घोषित भएका थिए । विजेता टोलीले ट्रफीसहित विभिन्न प्रायोजित पुरस्कार, छात्रवृत्ति, भाउचर तथा अन्य उपहार प्राप्त गरेको छ । अन्य टोलीहरूलाई पनि प्रमाणपत्र तथा प्रायोजकद्वारा उपलब्ध गराइएका सुविधाहरू प्रदान गरिएको थियो ।
ग्राण्ड फिनालेले प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियामार्फत उत्कृष्ट टोली छनोट गर्दै कलेजमा नवप्रवर्तन र उद्यमशीलताको सुदृढ आधार तयार गरेको आयोजकले जनाएको छ ।
आईसीटी समाचार