काठमाडौं । स्मार्टफोन अहिले दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । फोनबाट कुराकानी गर्ने, फोटो भिडियो खिच्ने, सामाजिक सञ्जाल चलाउनेदेखि विभिन्न एप प्रयोग गर्नेसम्मका काम हुँदै आएका छन् । यस क्रममा फोनमा धेरै एप, फोटो, भिडियो, डकुमेन्ट तथा अन्य फाइल जम्मा हुँदा स्टोरेज भरिन सक्छ ।
फोनको स्टोरेज भरिएपछि डिभाइसको कार्यसम्पादनमा समेत असर पर्न सक्छ । फोन सुस्त हुने, एपहरू खुल्न समय लाग्ने तथा नयाँ फोटो भिडियो सेभ गर्न समस्या हुनेजस्ता समस्या देखिन सक्छन् । कतिपय अवस्थामा स्टोरेज अत्यधिक भरिँदा फोनले सामान्य रूपमा काम गर्नसमेत कठिनाइ हुन सक्छ ।
तर, फोनको स्टोरेज बारम्बार भरिनुको कारण केवल क्यामेराबाट खिचिएका फोटो तथा भिडियो मात्र नहुन सक्छन् । विशेष गरी ह्वाट्सएपमार्फत प्राप्त हुने फोटो, भिडियो, डकुमेन्ट तथा अन्य मिडिया फाइलले पनि फोनको ठूलो हिस्सा स्टोरेज ओगट्न सक्छन् ।
ह्वाट्सएपका फाइलले कसरी भरिन्छ स्टोरेज ?
ह्वाट्सएपमा नियमित रूपमा फोटो, भिडियो तथा डकुमेन्ट आदानप्रदान हुने भएकाले समयसँगै यस्ता फाइलको संख्या बढ्दै जान्छ । विशेष गरी उच्च गुणस्तरको फोटो वा भिडियो पठाउन कतिपय प्रयोगकर्ताले ह्वाट्सएपको Document सुविधामार्फत फाइल पठाउने गर्छन् । यसरी पठाइएका फाइल सामान्य फोटो वा भिडियोभन्दा ठूलो आकारका हुन सक्छन् ।
त्यसैगरी, ह्वाट्सएपमा प्राप्त एउटै मिडिया फाइलका एकभन्दा बढी प्रति फोनमा सेभ हुन सक्ने भएकाले अनावश्यक रूपमा स्टोरेज खपत हुन सक्छ । च्याटहरूमा जम्मा भएका ठूला फाइलहरू समयमै व्यवस्थापन नगर्दा फोनको स्टोरेज क्रमश: भरिँदै जान्छ । स्टोरेज लगभग भरिएपछि फोनको गति पनि सुस्त हुन सक्छ ।
एपहरू ढिलो खुल्ने, नयाँ फोटो तथा भिडियो डाउनलोड वा सेभ गर्न नसकिने र अन्य सामान्य काममा समेत समस्या आउन सक्छ । त्यसैले फोनको स्टोरेज खाली राख्न ह्वाट्सएपमा जम्मा भएका अनावश्यक तथा ठूला फाइललाई पनि समय समयमा व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
ह्वाट्सएपको स्टोरेज कसरी खाली गर्ने ?
ह्वाट्सएपमा जम्मा भएका अनावश्यक फाइल हटाउन Manage Storage सुविधाको प्रयोग गर्न सकिन्छ । त्यहाँ ह्वाट्सएपले फोनमा कति स्टोरेज प्रयोग गरिरहेको छ तथा कुन च्याटले बढी स्टोरेज ओगटेको छ भन्ने जानकारी हेर्न सकिन्छ ।
धेरै स्टोरेज ओगटेका अनावश्यक फोटो, भिडियो, डकुमेन्ट तथा अन्य फाइल पहिचान गरी छनोट गरेर डिलिट गर्न सकिन्छ । यसरी अनावश्यक फाइल हटाउँदा फोनमा पर्याप्त स्टोरेज खाली गर्न सकिन्छ ।
त्यसैगरी, ह्वाट्सएपमा आउने फोटो तथा भिडियो आफैँ डाउनलोड हुन नदिन Media Auto Download को सेटिङ पनि आफ्नो आवश्यकताअनुसार परिवर्तन गर्न सकिन्छ । यसले अनावश्यक मिडिया फाइल स्वत: डाउनलोड हुनबाट रोक्नुका साथै फोनको स्टोरेज बचाउन सहयोग गर्छ ।
फोनको स्टोरेज नियमित रूपमा व्यवस्थापन गर्ने बानीले डिभाइसलाई अनावश्यक फाइलको बोझबाट जोगाउनुका साथै दैनिक प्रयोगलाई समेत सहज बनाउन सक्छ ।
आईसीटी समाचार