कीवर्डहरू -

एलन मस्कको स्टारलिंकको नजर नेपाली बजारमा, सञ्चारमन्त्रीसँग माग्यो अनुमति

एलन मस्कको स्टारलिंकको नजर नेपाली बजारमा, सञ्चारमन्त्रीसँग माग्यो अनुमति

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंकले नेपालमा आफ्नो सेवा सञ्चालन गर्ने प्रयासलाई पुनः तीव्र बनाएको छ । यसैक्रममा कम्पनीकी निर्देशक रेबिका स्लिक हन्टरले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गरी नेपालमा सेवा विस्तारबारे छलफल गरेकी छन् ।

भेटका क्रममा हन्टरले नेपालमा सञ्चालन अनुमति प्राप्त गर्न कम्पनी इच्छुक रहेको तर केही कानुनी तथा नीतिगत व्यवस्थाका कारण प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गरिन् ।

उनका अनुसार कम्पनीले स्वामित्व संरचनासम्बन्धी प्रावधानलाई लिएर चासो व्यक्त गरेको छ । साथै, स्थानीय स्तरमा सम्भावित सहकार्यका लागि विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूसँग संवाद भइरहेको जानकारी पनि उनले दिएकी थिइन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले भने नेपालका विद्यमान कानुन तथा दूरसञ्चार नीतिअनुसार आवश्यक प्रक्रिया पूरा गरेमा कुनै पनि कम्पनीले सेवा सञ्चालन गर्न सक्ने स्पष्ट पारे । उनले कानुनी ढाँचाभित्र रहेर काम गर्न सरकार सदैव तयार रहेको बताए ।

स्टारलिंकले नेपाल प्रवेशका लागि विगत केही वर्षदेखि विभिन्न तहमा पहल गर्दै आएको छ । कम्पनीका प्रतिनिधिहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार मन्त्रालयका अधिकारी तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग समेत पटक–पटक भेटवार्ता गरेका थिए ।

गत वर्ष कम्पनीले उच्च सरकारी नेतृत्वसमक्ष आफ्नो प्रविधिको प्रदर्शनसमेत गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री ओली र स्टारलिंकका संस्थापक एलन मस्कबीच भर्चुअल संवाद भएको थियो, जहाँ नेपालमा सेवा विस्तारको सम्भावनाबारे छलफल भएको बताइएको थियो ।

यता, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने अनुमति नलिई स्टारलिंक सेवा प्रयोग भइरहेको विषयमा चिन्ता व्यक्त गर्दै आएको छ ।

विशेष गरी हिमाली क्षेत्रमा पर्वतारोहणसम्बन्धी गतिविधि सञ्चालन गर्ने केही संस्थाले आधार शिविरहरूमा अनधिकृत रूपमा स्टारलिंक इन्टरनेट प्रयोग गरेको भन्दै प्राधिकरणले पटक–पटक चेतावनी जारी गरेको छ ।

दर्ता तथा स्वीकृतिबिना कुनै पनि प्रकारको दूरसञ्चार सेवा उपलब्ध नगराउन सम्बन्धित पक्षलाई आग्रह गरिँदै आएको छ ।