काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो व्यावसायिक पहिचानलाई सांस्कृतिक र सामाजिक उत्तरदायित्वसँग जोड्दै महिलाहरूको सम्मानमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
साउन महिना र नजिकिँदै गरेको तीजको सन्दर्भ पारेर इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको हो । गत साउन २३ र २४ गते सञ्चालित यस उत्सवले विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाहरूलाई एकै ठाउँमा भेला गराई उल्लासमय वातावरण सिर्जना गरेको थियो ।
महिनाभर सञ्चालन हुने ‘उनी नै हरियो संकेत’ (सी इज द ग्रिन फ्ल्याग) अभियानअन्तर्गत आयोजना गरिएको यो कार्यक्रमले आफू अघि बढ्दै अरूलाई पनि प्रेरणा दिने र आत्मविश्वास बढाउने महिलाहरूको विशेष कदर गरेको छ ।
बिदाको दिन पारेर आयोजित कार्यक्रममा सहभागीहरूले नि:शुल्क मेहेन्दी लगाउने, पोलारोइड बुथमा तत्कालै तस्बिर प्रिन्ट गर्ने र विभिन्न खेलमार्फत आकर्षक उपहारहरू जित्ने अवसर पाएका थिए ।
प्रविधिलाई मात्र नभई सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई सँगसँगै अघि बढाउने उद्देश्यले यस्ता उल्लासमय कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार