कीवर्डहरू -

स्वदेशी उत्पादनदेखि एआई–रोबोटिक्ससम्म : भदौ ९ देखि नाडा अटो शो

स्वदेशी उत्पादनदेखि एआई–रोबोटिक्ससम्म : भदौ ९ देखि नाडा अटो शो

काठमाडौं । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८ औँ नाडा अटो–शो भव्य रूपमा आयोजना हुने भएको छ । अटोमोबाइल क्षेत्रको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको यस पटकको अटो–शोलाई स्वदेशी उत्पादन, एआई प्रविधि र रोबोटिक्स प्रदर्शनीको रूपमा विशेष बनाउने आयोजकको तयारी छ ।

यो वर्ष नाडाले आफ्नो स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाउँदैछ । यही ऐतिहासिक अवसर पारेर आयोजना गर्न लागिएको प्रदर्शनीले विगत पाँच दशकको अटोमोबाइल यात्रा, वर्तमानको अवस्था र भविष्यको मोबिलिटी मार्गचित्रलाई एकै मञ्चमा प्रस्तुत गर्नेछ ।

विगतका वर्षहरूमा सामान्य गाडी मेलाको रूपमा मात्र चिनिने अटो शो यसपटक भने आधुनिक प्रविधि र स्वदेशी उत्पादनको बृहत् सङ्गम बन्ने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।

‘मेड इन नेपाल’को छुट्टै प्रदर्शनीमा जोड
यस वर्षको अटो शो ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुँदैछ । यो नारालाई सार्थक बनाउन प्रदर्शनीमा आयातित अन्तर्राष्ट्रिय ब्रान्डहरूको मात्र वर्चस्व रहने छैन । अटो शोको इतिहासमै पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ नामक छुट्टै विशेष प्याभिलियन निर्माण गरिँदै छ ।

यसमा नेपालमै उत्पादन र एसेम्बल भएका सवारी साधनलाई गर्वका साथ प्रदर्शन गरिनेछ । यस प्याभिलियनमा नेपालमै बनेका यात्री मोटरसाइकल, सिप्रदीका उत्पादनहरूका साथै स्वदेशमै एसेम्बल भएका विभिन्न ब्रान्डका स्कुटर तथा बाइकहरू समावेश हुनेछन् ।

यसका अतिरिक्त नेपालमै उत्पादित टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र अन्य अटो स्पेयर पार्ट्सहरूलाई पनि मुख्य आकर्षणको रूपमा राखिनेछ । देशमै उद्योग स्थापना भएपछि मात्र रोजगारी सिर्जना हुने र युवाहरू विदेशिनबाट रोकिने तथ्यलाई आत्मसात् गर्दै नाडाले यसपटक स्वदेशी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको हो ।

रोबोटिक्स र एआई प्रविधिको नवीन प्रयोग गरिँदै
यसपटकको १८ औँ संस्करण विगतका सबै अटो शोहरूभन्दा प्राविधिक रूपमा अत्यन्तै उन्नत र अत्याधुनिक हुने नाडाको दाबी छ । भविष्यको यातायात र प्रविधिको विकास कस्तो हुँदैछ भनेर अवलोकनकर्तालाई प्रत्यक्ष अनुभव गराउन प्रदर्शनी स्थलमा ‘जीआई ह्युमानोइड रोबोट’ र ‘जीओ-२ क्वाड्राप रोबोट’ राखिनेछन् ।

यी रोबोटहरूले अटोमोबाइल क्षेत्रमा आउँदै गरेको कृत्रिम बौद्धिकता र अटोमेसनको प्रत्यक्ष झल्को दिनेछन् । अवलोकनकर्ताहरूको सहजता र नयाँ अनुभवका लागि आयोजकले यसपटक पूर्ण रूपमा डिजिटल प्रविधिको प्रयोग गर्दैछ ।

टिकट स्क्यान गरेर भित्र प्रवेश गरेपछि अवलोकनकर्ताले आफूले हेर्न चाहेको स्टल वा प्याभिलियनसम्म पुग्न जीपीआरएस प्रविधिको मद्दत लिन सक्नेछन् । 

यति मात्र नभई, अटो शोमा राखिएका कुनै पनि गाडीको क्युआर कोड स्क्यान गर्नेबित्तिकै एआई प्रविधिको प्रयोगमार्फत उक्त गाडीका सम्पूर्ण जानकारीहरू सोझै अवलोकनकर्ताको ह्वाट्सएपमा आउने अत्याधुनिक व्यवस्था मिलाइएको छ ।

ईभीको दबदबा र सिम्पोजियम
विश्वव्यापी रूपमै अटोमोबाइल क्षेत्र विद्युतीय सवारी साधन (ईभी) तर्फ केन्द्रित भइरहेको अवस्थामा यसपटकको नाडा अटो शोमा पनि ईभीकै दबदबा रहनेछ । विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूले आधुनिक प्रविधि र दिगो गतिशीलतालाई केन्द्रमा राख्दै आफ्ना नयाँ मोडेलका विद्युतीय गाडीहरू यही मञ्चबाट लन्च गर्दैछन् ।

सवारी साधनको प्रदर्शन सँगसँगै यसपटक अटो शोले प्राज्ञिक मन्थनलाई पनि उत्तिकै महत्त्व दिएको छ । प्रदर्शनीका दौरान स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीका विषयमा केन्द्रित रहेर विज्ञहरूसहितको सिम्पोजियम आयोजना गरिनेछ ।

यसले नीति निर्माता, व्यवसायी र उपभोक्ताबीच अटोमोबाइलको भविष्यका बारेमा स्पष्ट दृष्टिकोण निर्माण गर्न मद्दत पुर्‍याउने आयोजकको विश्वास छ ।

कस्तो रहनेछ प्रदर्शनी स्थल ?
करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा आयोजना हुने यस बृहत् प्रदर्शनीमा सानाठूला गरी २०० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, १० वटा वित्तीय संस्था र ७० वटा स्पेयर पार्ट्सका स्टलहरू रहनेछन् । 

यति ठुलो प्रदर्शनीलाई पूर्ण रूपमा अपाङ्गता मैत्री बनाउँदै ह्विलचियरको सहज पहुँच र दृष्टिविहीन नागरिकहरूका लागि छुट्टै ‘हेल्प डेस्क’को व्यवस्था गरिएको छ । सधैँजसो भृकुटीमण्डपमा देखिने पार्किङको ठुलो समस्यालाई यसपटक नाडाले व्यवस्थित बनाउने भएको छ ।

प्रदर्शनी स्थलका अतिरिक्त नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क र आर्मीको एसटीसी बिल्डिङ लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । बाहिर पार्किङ गर्नेहरूलाई प्रदर्शनी स्थलसम्म ल्याउन निःशुल्क ‘सटल बस’ को व्यवस्था हुनेछ ।

टिकट खरिदलाई सहज बनाउन टिकेटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजन रहेको ६ दिने यस अटो शोमा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ । देशको कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्मको ठुलो हिस्सा यसै क्षेत्रले ओगटेको छ । साथै, यस क्षेत्रले प्रत्यक्ष रूपमा १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख नागरिकलाई रोजगारी प्रदान गरेको छ ।