काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको खाता सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले नयाँ सुरक्षा फिचरहरू सार्वजनिक गरेको छ । नयाँ अपडेटसँगै प्रयोगकर्ताले एउटै खातामा एकभन्दा बढी पासकी राख्न सक्नेछन् भने दुई चरणीय प्रमाणीकरण (2FA) मा ६ अंकको पिनको विकल्पमा बलियो पासवर्ड प्रयोग गर्न सकिनेछ ।
ह्वाट्सएपका अनुसार पासकीमार्फत फिंगरप्रिन्ट, फेस आईडी वा डिभाइसको स्क्रिन लक प्रयोग गरेर खाता सुरक्षित तथा सहज रूपमा पहुँच गर्न सकिन्छ । अब प्रयोगकर्ताले आवश्यकताअनुसार एकभन्दा बढी पासकी थप्न सक्नेछन् । नयाँ पासकी थप्न ह्वाट्सएपको Settings > Account > Passkeys मा जानुपर्नेछ । यो सुविधा एन्ड्रोइड र आईफोन दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
त्यस्तै, दुई चरणीय प्रमाणीकरणलाई थप सुरक्षित बनाउन ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको पासवर्ड राख्न सकिने सुविधा पनि ल्याइएको छ । लामो र जटिल पासवर्डले अनधिकृत पहुँचबाट खाता जोगाउन थप सहयोग गर्ने ह्वाट्सएपको भनाइ छ ।
यससँगै ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि अपरिचित नम्बरबाट आउने कलसम्बन्धी जानकारी पनि विस्तार गर्दैछ । अब अपरिचित नम्बरबाट कल आउँदा उक्त नम्बर कुन देशसँग सम्बन्धित छ र कल गर्ने व्यक्ति तथा प्रयोगकर्ताबीच कुनै साझा ह्वाट्सएप समूह छ कि छैन भन्ने जानकारी देख्न सकिनेछ ।
यसले अपरिचित कल उठाउनुअघि प्रयोगकर्तालाई कल गर्ने व्यक्तिबारे थप जानकारी प्राप्त गर्न सहयोग गर्नेछ । ह्वाट्सएपका अनुसार नयाँ सुविधाको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ्नो खाता र कलमाथि थप सुरक्षा तथा नियन्त्रण प्रदान गर्नु हो ।
आईसीटी समाचार