काठमाडौं । वेब ब्राउजर चलाउँदा काम लाग्ने वेबसाइट वा महत्वपूर्ण जानकारी भएको ट्याब झुक्किएर बन्द हुन सक्छ । यस्तो अवस्थामा फेरि ब्राउजिङ हिस्ट्रीमा गएर वेबसाइट खोजिरहनुपर्ने झन्झट हुँदैन । किबोर्डको एउटा सर्टकट प्रयोग गरेर केही सेकेन्डमै बन्द भएको ट्याब पुन: खोल्न सकिन्छ ।
विन्डोज कम्प्युटरमा Ctrl + Shift + T एकैपटक थिचेपछि ब्राउजरले पछिल्लो पटक बन्द गरिएको ट्याब पुन: खोलिदिन्छ । यसबाट ट्याब बन्द गर्नुअघि खुलेको वेबसाइट र त्यसमा रहेको पृष्ठ पहिलेको अवस्थामै देखिन्छ ।
यदि एकभन्दा बढी ट्याब बन्द भएका छन् भने यही सर्टकटलाई पटक–पटक प्रयोग गर्न सकिन्छ । प्रत्येकपटक Ctrl + Shift + T थिच्दा त्यसअघि बन्द गरिएका ट्याबहरू क्रमश: पुन: खुल्दै जान्छन् । म्याक कम्प्युटरमा भने Command + Shift + T थिचेर यही सुविधा प्रयोग गर्न सकिन्छ ।
धेरै ट्याबमा एकैपटक काम गर्ने वा विभिन्न वेबसाइट खोलेर काम गर्ने प्रयोगकर्ताका लागि यो सर्टकट निकै उपयोगी हुन्छ । विशेष गरी महत्वपूर्ण ट्याब गल्तीले बन्द भएको अवस्थामा वेबसाइट फेरि खोज्न लाग्ने समय बचाउन यो सजिलो उपाय बन्न सक्छ ।
आईसीटी समाचार