कीवर्डहरू -

ईयूमा गुगल सर्चको पुरानो शैली हट्दै, आउँदैछ नयाँ व्यवस्था

ईयूमा गुगल सर्चको पुरानो शैली हट्दै, आउँदैछ नयाँ व्यवस्था

काठमाडौं । गुगलले युरोपेली संघ (ईयू) मा आफ्नो सर्च सेवाको नतिजा देखाउने तरिकामा ठूलो परिवर्तन गर्ने भएको छ । डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत आफ्नै सेवाहरूलाई प्रतिस्पर्धी सेवाभन्दा बढी प्राथमिकता दिएको आरोपमा कारबाही भोगेपछि गुगलले सर्च प्रणालीमा नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

युरोपेली आयोगले गुगललाई सर्च क्षेत्रमा आफ्नो प्रभावको दुरुपयोग गर्दै आफ्ना सेवाहरूलाई अनुचित रूपमा प्राथमिकता दिएको आरोपमा करिब ४६० मिलियन युरो जरिवाना गरेको थियो । उक्त कारबाही डीएमए उल्लंघनसँग सम्बन्धित ईयू र अमेरिकी प्रविधि कम्पनीबीचको पछिल्लो विवादका रूपमा हेरिएको छ ।

डीएमएले ठूला प्रविधि कम्पनीहरूलाई आफ्ना सेवाहरूलाई तेस्रो पक्षका प्रतिस्पर्धी सेवाभन्दा सर्च नतिजामा बढी प्राथमिकता दिन रोक लगाएको छ । यही नियम पालना गर्न गुगलले सन् २०२४ को मार्चदेखि आफ्नो सर्च सेवामा सम्भावित परिवर्तनबारे जानकारी दिँदै आएको थियो ।

यात्रासम्बन्धी जानकारी खोज्दा प्रतिस्पर्धी सेवाभन्दा माथि गुगल फ्लाइट्सको विवरण देखाउनेजस्ता अभ्यासलाई लिएर युरोपेली आयोगले गुगलमाथि अनुसन्धान थालेको थियो । आयोगले गुगलसँगै एप्पल र मेटामाथि पनि आफ्ना सेवाहरूलाई अनुचित प्राथमिकता दिएको विषयमा अनुसन्धान गरेको थियो ।

सन् २०२५ को अक्टोबरमा सार्वजनिक रिपोर्टअनुसार गुगलले डीएमएअनुसार सर्च नतिजा प्रस्तुत गर्ने शैली परिवर्तन गर्ने प्रस्ताव अघि सारेको थियो । पछिल्लो योजनाअनुसार ईयूका प्रयोगकर्ताले सर्च गर्दा पेजको माथिल्लो भागमा एउटा विशेष ‘भर्टिकल सर्च’ सेवा देख्नेछन् । त्यसपछि कम विवरणसहित अन्य दुई सर्च सेवा प्रस्तुत गरिनेछ ।

त्यसपछि होटल, एयरलाइन्स तथा रेस्टुरेन्टजस्ता सेवासम्बन्धी सूची देखाइनेछ । तर यस क्रममा हाल उपलब्ध हुने वास्तविक समयका मूल्यलगायत केही महत्वपूर्ण विवरण हटाइने बताइएको छ ।

इन्ग्याजेटका अनुसार गुगलले देखाउने यस्ता विशेष सर्च सेवामा एक्सपेडिया र होटल्स डटकमजस्ता प्लेटफर्म पनि समावेश हुनेछन् । यसले व्यक्तिगत व्यवसायका वेबसाइटभन्दा एग्रिगेटर तथा मूल्य तुलना गर्ने प्लेटफर्महरूलाई सर्च नतिजामा बढी दृश्यता मिल्न सक्ने अवस्था सिर्जना गर्नेछ ।

यद्यपि, सर्च नतिजाको अन्तिम क्रम निर्धारण गर्ने अधिकार गुगलको एल्गोरिदममै रहनेछ । यसले सर्च नतिजा प्रस्तुत गर्ने प्रक्रियामा गुगलको नियन्त्रण पूर्ण रूपमा समाप्त नहुने देखाउँछ ।

युरोपेली आयोगले गुगललाई डीएमएअनुसार नियम पालना गर्न ६० दिनको समय दिएको थियो । तर नयाँ व्यवस्था ईयूका प्रयोगकर्ताले ठ्याक्कै कहिलेदेखि देख्न पाउनेछन् भन्ने मिति भने गुगलले सार्वजनिक गरेको छैन ।

गुगलका अधिकारीहरूले भने नयाँ नियमअनुसार गर्नुपर्ने परिवर्तनले सर्च सेवाको गुणस्तरमा असर पर्ने दाबी गरेका छन् । गुगलका अनुसार डीएमए पालना गर्न यसअघि गरिएको परिवर्तनकै कारण युरोपेली व्यवसायहरूले प्रत्यक्ष रूपमा नि:शुल्क प्राप्त गर्ने बुकिङ ट्राफिकमा करिब ३० प्रतिशत कमी आएको थियो ।

गुगलका ज्ञान तथा सूचना विभागका वरिष्ठ उपाध्यक्ष निक फक्सले नयाँ परिवर्तनले युरोपेली प्रयोगकर्ताको अनुभव कमजोर बनाउने र स्थानीय व्यवसायको तुलनामा अनलाइन मध्यस्थ सेवाहरूलाई फाइदा पुग्ने बताएका छन् ।

उनका अनुसार नयाँ व्यवस्थाले प्रयोगकर्ताले दैनिक रूपमा प्रयोग गर्दै आएका केही उपयोगी सुविधा समेत हटाउनेछ । गुगलले नयाँ परिवर्तनपछि युरोपेली व्यवसायमा आउने नि:शुल्क बुकिङ ट्राफिक अझ घट्न सक्ने चेतावनी समेत दिएको छ ।