काठमाडौं । इन्स्टाग्रामले आफ्नो नयाँ वर्डमार्क सार्वजनिक गरेको छ । वर्डमार्क भनेको कम्पनी वा ब्रान्डको नामलाई अक्षर तथा शब्दमार्फत मात्र प्रस्तुत गरिएको लोगो हो । इन्स्टाग्रामका अनुसार करिब १० वर्षदेखि प्रयोग हुँदै आएको पुरानो डिजाइन केही पुरानो देखिन थालेपछि नयाँ डिजाइन ल्याइएको हो ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइन ‘अझ स्पष्ट र आधुनिक’ देखिने गरी तयार गरिएको छ । नयाँ डिजाइनले इन्स्टाग्रामको पुरानो पहिचानलाई कायम राख्दै सरलतालाई निरन्तरता दिएको छ ।
नयाँ डिजाइनलाई केही प्रयोगकर्ताले ताजा र आकर्षक भनेका छन् भने केहीले प्रयोग गरिएको फन्टको छनोटको प्रशंसा गरेका छन् । यद्यपि, नयाँ वर्डमार्कमा प्रयोग गरिएको ‘r’ अक्षरको फन्टका कारण केही प्रयोगकर्ताले ‘Instagram’ शब्द ‘Instagzam’ जस्तो देखिएको टिप्पणी गरेका छन् ।
तर ‘Instagram’ विश्वभर परिचित ब्रान्ड भएकाले डिजाइनमा केही कलात्मक परिवर्तन भएपनि अधिकांश प्रयोगकर्ताले यसलाई सजिलै इन्स्टाग्रामकै रूपमा पहिचान गर्ने अपेक्षा गरिएको छ ।
इन्स्टाग्रामले पछिल्लो पटक सन् २०१६ मा आफ्नो डिजाइन परिवर्तन गरेको थियो । त्यतिबेला पुरानो खैरो क्यामेरा र इन्द्रेणी स्ट्राइप भएको लोगो हटाएर हालसम्म प्रयोग हुँदै आएको रंगीन गुलाबी ग्रेडियन्टयुक्त लोगो ल्याइएको थियो ।
नयाँ वर्डमार्कबारे मेटाले थप विस्तृत जानकारी दिएको छैन । साथै, भविष्यमा इन्स्टाग्रामको एप आइकनसहित अन्य डिजाइनमा पनि परिवर्तन गरिने हो वा होइन भन्ने विषय समेत अहिलेसम्म स्पष्ट भएको छैन ।
आईसीटी समाचार