काठमाडौं । सामाजिक सञ्जालमा एआईबाट सिर्जना गरिएका वास्तविक मानिसजस्ता देखिने प्रोफाइलको प्रयोग बढ्दै गएपछि इन्स्टाग्रामले त्यस्ता खाताको पहिचान स्पष्ट पार्न नयाँ नियम ल्याउने भएको छ ।
इन्स्टाग्रामले एआईबाट सिर्जना गरिएका प्रोफाइलमा प्रयोग हुँदै आएको ‘AI Creator’ लेबल परिवर्तन गरी ‘AI Generated Profile’ राख्ने जनाएको छ । नयाँ लेबलले सम्बन्धित प्रोफाइलमा देखिएको व्यक्ति पूर्ण रूपमा एआईबाट सिर्जना गरिएको वा एआईको प्रयोगबाट तयार पारिएको हो भन्ने जानकारी प्रयोगकर्तालाई दिनेछ ।
इन्स्टाग्रामका अनुसार एआईबाट सिर्जना गरिएको व्यक्तिको प्रयोग गर्ने तर त्यसबारे प्रयोगकर्तालाई जानकारी नदिने खाताको पहुँच सीमित गर्न सकिनेछ । नयाँ व्यवस्थाको उद्देश्य एआई प्रोफाइलसम्बन्धी स्पष्टता बढाउँदै प्लेटफर्ममा पारदर्शिता कायम गर्नु रहेको छ ।
लेबल नराख्ने खाताको पहुँच घट्न सक्ने
नयाँ नीतिअनुसार एआईबाट सिर्जना गरिएको प्रोफाइललाई उचित रूपमा लेबल नगर्ने क्रिएटरको पहुँच घटाउन सकिनेछ । तर, ‘AI Generated Profile’ लेबल प्रयोग गर्ने खातालाई एआईबाट सिर्जना गरिएको व्यक्ति प्रयोग गरेकै आधारमा कारबाही गरिने छैन ।
यद्यपि, फोटो सम्पादन, क्याप्सन सुधार वा सामान्य ग्राफिक्स तयार गर्न एआई प्रयोग गरिएको अवस्थामा भने यस्तो लेबल आवश्यक नपर्ने इन्स्टाग्रामले जनाएको छ ।
इन्स्टाग्रामका अनुसार वास्तविक मानिसजस्तो देखिने एआई प्रोफाइलबारे प्रयोगकर्ताबाट गुनासो बढ्दै गएपछि नयाँ नीति ल्याउन लागिएको हो । यसले प्रयोगकर्तालाई आफूले हेरेको प्रोफाइल वास्तविक व्यक्तिको हो वा एआईबाट सिर्जना गरिएको हो भन्ने कुरा सहज रूपमा छुट्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
एआई इन्फ्लुएन्सरमार्फत प्रचारप्रसार बढ्दो
एआईबाट सिर्जना गरिएका सामाग्री तथा इन्फ्लुएन्सरको संख्या बढ्दै जाँदा सामाजिक सञ्जालमा यसको प्रयोगलाई लिएर चिन्ता र असन्तुष्टि पनि बढिरहेको छ ।
इन्स्टाग्राममा एआईबाट सिर्जना गरिएका इन्फ्लुएन्सर प्रयोग गरी विभिन्न एप तथा उत्पादनको प्रचार गरिएको पाइएको छ ।
स्वास्थ्य तथा वेलनेस क्षेत्रमा समेत एआईबाट तयार गरिएका डाक्टर, उपचारकर्ता तथा इन्फ्लुएन्सरले सप्लिमेन्ट र स्वास्थ्यसम्बन्धी दाबी गर्दै प्रचार गर्ने गरेको विषयमा रिपोर्टहरू सार्वजनिक भएका छन् ।
यस्ता सामाग्रीले वास्तविक विशेषज्ञ र एआईबाट सिर्जना गरिएका पात्रबीचको फरक छुट्याउन प्रयोगकर्तालाई कठिन हुने तथा गलत सूचना फैलिन सक्ने जोखिम बढाउने चिन्ता व्यक्त हुँदै आएको छ ।
गलत पहिचान भए अपील गर्न सकिने
इन्स्टाग्रामले कुनै खातालाई गल्तीवश एआई प्रोफाइलका रूपमा पहिचान गरी कारबाही गरेमा प्रयोगकर्तालाई ‘Account Status’ मा गएर त्यसविरुद्ध अपील गर्ने विकल्प पनि उपलब्ध गराउने जनाएको छ ।
इन्स्टाग्रामले यसअघि अन्य व्यक्तिको अनुहार तथा पहिचान प्रयोग गरी एआई तस्बिर बनाउन सकिने सुविधालाई लिएर आलोचना खेपेको थियो । प्रयोगकर्ताबाट विरोध बढेपछि मेटाले उक्त सुविधा हटाएको थियो ।
नयाँ नियममार्फत भने एआईबाट सिर्जना गरिएका प्रोफाइल र वास्तविक व्यक्तिबीचको अन्तर प्रयोगकर्तालाई स्पष्ट रूपमा जानकारी गराउने तथा एआईको प्रयोगमा थप पारदर्शिता कायम गर्ने प्रयास गरिएको छ ।
आईसीटी समाचार